प्रमुख नहुँदा कार्यालय सञ्चालनमा समस्या

इनेप्लिज २०७२ कार्तिक १८ गते २:५० मा प्रकाशित

बैतडी, १८ कात्तिक । महिला तथा बालबालिका कार्यालय पाटन बैतडीमा कार्यालय प्रमुख नहुँदा कार्यालयले सञ्चालन गर्ने काममा समस्या आएको छ ।

महिला विकास अधिकृत निर्मला मिश्रको सरुवा भइसकेको र नयाँ कार्यालय प्रमुख अहिलेसम्म नआउँदा चालु आर्थिक वर्षको पहिलो चौमासिकमा गर्ने कार्य गर्न नसकिएको निमित्त कार्यालय प्रमुख बिष्ना भण्डारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “निमित्त कार्यालय प्रमुखलाई महिला विभागले आर्थिक अधिकार नदिएकाले काम गर्न असजिलो भएको छ ।” पहिलो चौमासिकमा गर्नुपर्ने धेरै कार्य बाँकी रहेको र महिला तथा बालबालिका कार्यालयमार्फत सञ्चालन गर्नुपर्ने धेरै किसिमका तालिम सञ्चालन गर्न नसकिएको समेत उहाँले बताउनुभयो ।

यस्तै विभिन्न दातृ निकायसँगको सहकार्यमा सञ्चालित कार्यक्रमको पनि कार्यालय प्रमुख नहुँदा प्रभावित भएका छन् । समयमा काम गर्न नपाउँदा धेरै समस्या हुने गरेका कार्यालयका कर्मचारीले बताएका छन् ।

प्रतिक्रिया