चिसो बढेसँगै चौँरी गोठ बेंँसीतिर झारिँदै

इनेप्लिज २०७२ कार्तिक १४ गते ३:३८ मा प्रकाशित

imagesइलाम, १४ कात्तिक । केही दिनयता इलामलगायत पाँचथर र ताप्लेजुङ जिल्लाका उत्तरी क्षेत्रमा चिसो बढेसँगै त्यस क्षेत्रमा रहेका चौँरी गोठ न्यानो स्थान खोज्दै बेँसीतर्फ झार्न थालिएको छ ।

इलामको सन्दकपुर, कालापोखरी, पाँचथरको फालोट, चिवाभञ्ज्याङ, ताप्लेजुङको तिम्बुपोखरी, कालीखोलाबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो ।

अत्यधिक चिसो हुन थालेपछि चौँरी आफैँ न्यानो स्थान खोज्दै उधो झर्ने भएकाले चाँैरीपालक किसानले सोहीअनुसार पुरानो खर्कतिर गोठ सार्न थालेका हुन् ।
ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । इलामको सन्दकपुर र कालपोखरी खर्कमा रहेका गोठ बेँसीतर्फ झारिएको माइमझुवा–९ का लालबहादुर राईले बताउनुभयो ।

अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठ क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठ केही तल झारिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँभन्दा न्यानो स्थानमा चौँरी बस्न रुचाउँछन्, चौँरीपालक कृषक राईले भन्नुभयो “त्यसैले चौँरी गोठसहित गोठालासमेत ओरालो लाग्छन् ।”

गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानोस्थानतर्फ झरेका छन् । सामूहिकरूपमा खर्कमा बनाइएका गोठमा तिनीहरू सर्ने गरेको उहाँले बताउनुभयो । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब ६० वटा चौँरी गोठ चिसोबाट न्यानोतर्फ सरेका छन् ।

असोज महिनादेखि गोठ उधौली झर्ने क्रम सुरू हुन्छ । न्यानोपना नआएसम्म ती गोठ बेँसीमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उभौली लाने क्रम सुरू हुने मावुका चौँरीपालक दण्डु लामाले बताउनुभयो । उधौली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् ।

प्रतिक्रिया