असिना पीडित राहत माग गर्दै

इनेप्लिज २०७२ कार्तिक १४ गते ३:३१ मा प्रकाशित

खोटाङ, १४ कात्तिक । खोटाङको पूर्वी गाविस नेर्पाका असिना पीडित किसानले राहतका माग गरेका छन् ।

गत कात्तिक ६ गते वर्षासँगै परेको असिनाले सयौँ हेक्टरमा लगाइएको धान नष्ट बनाएको भन्दै असिना पीडितले जिल्ला प्रशासन कार्यालयमा आएर राहत माग गरेका हुन् ।

पाक्न लागेका धान असिनाले हिर्काएर झारी दिएपछि नेर्पाका पीडित किसानले क्षतिको अनुगमन मूल्याङ्कन गरी उचित राहतको व्यवस्था गर्न शुक्रबार कृषि कार्यालय र जिल्ला दैवीप्रकोप उद्धार समितिसमक्ष माग राखेका छन् ।

असिनाले ५९ किसानको ६१५ मुरी धान नष्ट बनाएको प्रारम्भिक अनुमान गरिएको शिखर जनउत्थान कृषक समूह नेर्पा–८ का अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिनुभयो ।

असिनाले कोदो, करेला, सागपात, मुलालगायतका बालीनाली समेत नष्ट गरेको छ । भारी वर्षासँगै परेको असिनाले नेर्पाबाहेक पाथेका, खार्मी, दोर्पाचिउरीडाँडा, निर्मलीडाँडालगायत गाविसमा लगाइएको अन्नबाली विनास गरेको जानकारी आएको कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।

असिनाले पुर्‍याएको क्षतिको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गर्न प्राविधिकको टोली प्रभावित क्षेत्रमा पठाइसकेको घिमिरेको भनाइ छ ।

प्रतिक्रिया