मैनाली र सुब्बालाई पद्मश्री साहित्य पुरस्कार

इनेप्लिज २०७२ कार्तिक १० गते ०:३६ मा प्रकाशित

Mohan-mainali-1-650x366काठमाडौ । यो वर्षको पद्मश्री साहित्य पुरस्कार ‘मान्ठा डराएको जुग’ यात्रा संस्मरणको लागि पत्रकार मोहन मैनाली र ‘लाटो पहाड’ कथा संग्रहको लागि उपेन्द्र सुब्बालाई संयुक्त प्रदान गरिएको छ । कोजाग्रत पूर्णिमाको अवसर पारेर एक समारोहका वीच यसअघि नै घोषित सो पुरस्कार आज काठमाडौमा प्रदान गरिएको हो । खेमलाल-हरिकला समाज कल्याण प्रतिष्ठानले २०७१ सालमा प्रकाशित नेपाली साहित्यका कृतिमध्येबाट ती दुई पुस्तकलाई छानेर दुई लाख राशीको सो पुरस्कार दिने निर्णय केही महिना अघि गरेको थियो । धादिङ, बाजुरा, संखुवासभा र कर्णाली अञ्चलमा माओवादी द्वन्द्वकालमा त्यहाँका निर्दोष जनता दोहोरो चेपुवामा परेको कारुणिक यथार्थलाई मार्मिक ढंगबाट उजागर गरिएकोले ‘मान्ठा डराएको जुग’लाई पुरस्कारको लागि छनोट गरिएको प्रतिष्ठाने जनाएको छ । प्रतिष्ठानका संरक्षक जीवा लामिछानेले सो सम्मान तथा पुरस्कार हस्तान्तरण गरेका थिए । ०६३ सालदेखि प्रदान गरिंदै आएको पुरस्कार यसअघि गणेश रसिकको ‘दशगजामा उभिएर’, भानुभक्त पोखरेलको ‘हिमत्व खण्ड, कृष्ण बरालको ‘समय हराएको बेला’, धु्रव सापकोटाको ‘अकल्पनीय’ र अमर न्यौपानेको ‘पानीको घाम’, झमक घिमिरेको ‘जीवन काँडा कि फूल’ र रवीन्द्र समीरको ‘अर्जुनदृष्टि’, खगेन्द्र सङ्ग्रौलाको ‘आफ्नै आँखाको लयमा’, शारदा शर्माको ‘ताप’ र मनु ब्राजाकीको’ अन्नपुर्णको भोज’ पुस्तकलाई अर्पण गरिएको थियो । प्रतिष्ठाने कला र संस्कृतिको क्षेत्रमा दीर्घकालिन योगदान पुर्याउने साधकलाई दिंदै आएको दुई लाखको पद्मश्री साधना सम्मान यसपटक कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरेको छ । यो सम्मान यसअघि राष्ट्रकवि माधव घिमिरे, आख्यानकार मदनमणी दीक्षित र संस्कृतिविद् सत्यमोहन जोशी तथा बरिष्ठ आख्यानकार ध्रुबचन्द्र गौतमलाई दिइएको थियो ।

प्रतिक्रिया