ग्यासमा कालोबजारी गर्ने नियन्त्रणमा

इनेप्लिज २०७२ कार्तिक ९ गते १०:४९ मा प्रकाशित

LPG-GAS-cylinderलुम्बिनी (रुपन्देही), ९ कात्तिक । खाना पकाउने ग्यासको चरम अभाव भइरहेका बेला भारततर्फ ग्यास बिक्री वितरण गर्दै कालोबजारी गर्ने रुपन्देही वेलहियाका एक व्यापारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वेलहियामा विष्णु एन्ड दीक्षा किराना पसलको नामबाट व्यापार गर्दै आएका विष्णु पाठकले स्थानीय जनतालाई ग्यास बिक्री नगरी भारतीय बजार सुनौलीका बासिन्दालार्ई रु १० हजारसम्ममा बिक्री गरेका थिए ।

आज बिहान ग्यास किन्न गएका स्थानीयवासी देवराज न्यौपानेलाई ग्यास नदिएर भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर भारततर्फ पठाएपछि स्थानीय जनताले प्रहरीलाई खबर गरेका थिए ।

आफूले पाठकसँग पटकपटक बिन्ता गर्दा पनि ग्यास नभएको र भएपनि ‘नेपालीलाई रु १० हजार दिँदा पनि दिन्न’ भन्ने प्रतिक्रिया दिएको न्यौपानेले जानकारी दिनुभयो । नेपाली बजारमा ग्याससहितको सिलिन्डरको खुद्रा मूल्य रु तीन हजारदेखि तीन हजार ५०० सम्म पर्ने गर्छ ।

खबर पाएलगत्तै पाठकको किराना पसलमा पुगेको प्रहरीले खानतलासीका क्रममा १४ वटा ग्यासका सिलिन्डर फेला पारेको थियो । सीमा क्षेत्रमा बसेर व्यापार गर्दै आएका ती व्यापारीले महँगोमा भारतीयलाई बिक्री गरेको खुल्न आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बजारमा ग्यासको चरम अभाव भएका बेला नेपाली उपभोक्तालाई ग्यास नदिएर भारतीयलाई बिक्री गर्ने त्यस व्यापारीको काम अपराध भएको प्रतिक्रिया दिनुभयो । प्रहरीले पाठकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

प्रतिक्रिया