माडीमा हात्ती आतङ्क

इनेप्लिज २०७२ कार्तिक ९ गते १:४५ मा प्रकाशित

indexचितवन, ९ कात्तिक । देशभर दसैँको रौनक चलिरहँदा चितवनका माडीवासी भने रातभर हात्ती धपाउनमा नै व्यस्त भएका छन् । सँगै जोडिएको चितवन राष्ट्रिय निकुञ्जबाट एकल, दुई र बथान नै बस्ती पसेर धान खाने र मडार्ने गर्न थालेपछि रातभर जाग्राम बसेर उनीहरुले हात्ती धपाउनुपरेको हो । हात्तीले कतिपय घरसमेत भत्काएका छन् भने धानको क्षतिको आँकलन हुन सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति गर्दीका अध्यक्ष नारायणदत्त सापकोटाका अनुसार भैरवपुरमा दुई घर हात्तीले भत्काएर क्षति पु¥याएको छ भने धान बाली ठूलो मात्रामा नष्ट गरेको छ । खेतबारीमा बनाइएका मचान र साइरन फिट गरेको ट्र्याक्टरको सहायताले हरेक दिन हात्ती धपाइँदै आएको छ ।

स्थानीयवासीले आगोको मुस्लो लिएर थाल ठटाउने, शङ्ख बजाउने गरेर हात्ती धपाउँदै आएका छन् । एक रातको रु दुई हजार भाडा तिर्ने गरी लिइएको ट्र्याक्टरमा फिट गरेको साइरन, ट्र्याक्टरको हर्न र ट्र्याक्टरमाथि बसेर मान्छे कराएपछि हात्ती भाग्ने गरेका छन् । झन्डै १५ दिनदेखि हात्तीले सताएपछि ट्र्याक्टरसहित परिचालन भएको उहाँले बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती उपभोक्ता समिति, बघौडाका अध्यक्ष प्रभु महतोका अनुसार साँझ परेपछि हात्ती बस्ती प्रवेश गर्न सुरु गर्छ भने बिहान उज्यालो हुन लाग्दामात्रै निकुञ्ज पस्ने गरेको छ ।

निकुञ्जले मुख्य रुपमा चारवटा हात्तीले बस्तीमा सताउने गरेको जनाए पनि महतोले भने छवटा हात्ती पालैपालो विभिन्न क्षेत्रमा प्रवेश गरी क्षति पु¥याउने गरेको बताउनुभयो । मानवीय क्षति रोक्नका लागि विभिन्न विधि अपनाएर रातभर जाग्राम बसी हात्ती खेद्न बाध्य भएको महतोको भनाइ छ ।

दुई वर्षअघि माडीमा ध्रुवे नामको जङ्गली हात्तीले छजनाको ज्यान लिएको थियो । पछिल्लो समय धान र गहुँ थन्काउने बेला वर्षमा दुईपटक हात्तीले सताउँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रवक्ता टीकाराम पौडेलले रातको समयमा स्थानीयवासीलाई निकुञ्ज कर्मचारी, सेना, प्रहरीले समेत हात्ती धपाउन सहयोग गर्दै आएको बताउनुभयो ।

चितवन राष्ट्रिय निकुञ्ज भारतको वाल्मीकि टाइगर रिजर्बमा जोडिएको हुँदा कुनै बेला ३०÷४० वटा हात्तीको हुलसमेत आउने गरेको निकुञ्जले जनाएको छ । नियमित रुपमा चितवन र पर्सा वन्यजन्तु आरक्ष क्षेत्रभित्र ८÷१० वटा हात्तीमात्रै रहने गरेको पौडेलले जानकारी दिनुभयो ।

माडीका चार गाविस मिलाएर हालैमात्र माडी नगरपालिका घोषणा गरिएको छ । जहाँ ३७ हजार ६८३ जनसङ्ख्या रहेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट ४५ किलोमिटर दूरीमा माडी रहेको छ । जहाँ पुग्न चितवन राष्ट्रिय निकुञ्ज पार गर्नुपर्ने हुन्छ । माडी नगरपालिका चारैतिर जङ्गलले घेरिएको छ भने तीनतिर चितवन राष्ट्रिय निकुञ्ज पर्दछ ।

प्रतिक्रिया