बसमा पेट्रोलियम पदार्थ ढुवानी रोक्न प्रहरीको निगरानी

इनेप्लिज २०७२ कार्तिक ८ गते १०:४४ मा प्रकाशित

भीमदत्तनगर, ८ कात्तिक । आगलागीको जोखिम बढेपछि प्रहरीले यात्रुबाहक बसमा पेट्रोलियम पदार्थ ढुवानी रोक्न निगरानी बढाएको छ ।

केही दिनअघि बाँकेमा बस दुर्घटना हुँदा बसमा ग्यालिनमा राखिएको पेट्रोलियम पदार्थ र ग्यासका कारण दुर्घटनाग्रस्त बसमा आगो लाग्दा यात्रुले ज्यान गुमाएपछि कञ्चनपुरमा प्रहरीले काठमाडौँलगायतका रुटमा चल्ने सवारी साधनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले लामो दूरीका सवारी साधनमा ग्यालिनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरिएको बताउनुभयो ।

“ग्यालिनमा भएको पेट्रोलले नै दुर्घटनाग्रस्त बसमा आगलागीको घटनासमेत भयो ।” बाँकेको घटनालाई स्मरण गर्दै उहाँले भन्नुभयो – “यस विषयमा हामीले सजगता अपनाउनु नै पर्छ ।”

भारतले अघोषित रुपमा नाकाबन्दी गरेसँगै काठमाडौँमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि कञ्चनपुरबाट समेत सर्वसाधारणले पेट्रोलियम पदार्थ काठमाडौँ पठाएका थिए ।

यहाँका स्थानीयवासीले काठमाडौँमा रहेका आफन्तलाई यात्रुबाहक बसमा ग्यालिनमा हालेर पेट्रोल बढी मात्रामा पढाउने गरेका छन् । उनीहरुले भारतीय सीमावर्ती सहरबाट खरिद गरी काठमाडौँ पठाउने क्रम बढेको भए पनि बाँकेको घटनापछि बस व्यवसायीले समेत पेट्रोलियम पदार्थको ढुवानीमा रोक लगाउन थालेका छन् ।

कञ्चनपुरका विभिन्न सीमा नाका तथा यहाँका पेट्रोल पम्पहरुबाट खरिद गरी स्थानीयवासीले हजारौँ लिटर तेल काठमाडौँ पठाइसकेका छन् ।

यहाँबाट दैनिक पाँचवटा यात्रुबाहक बस काठमाडौँका लागि दैनिक जाने गर्छन् । हरेक बसमा सर्वसाधारणले सयौँ लिटर पेट्रोलियम पदार्थ पठाउने गर्थे ।

प्रतिक्रिया