बसबाट पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ

इनेप्लिज २०७२ कार्तिक ७ गते १:५४ मा प्रकाशित

भीमदत्तनगर, ७ कात्तिक । आगलागीको जोखिम बढेपछि प्रहरीले यात्रुबाहक बसबाट हुने पेट्रोलियम पदार्थको ढुवानीमा निगरानी बढाएको छ ।

केही दिनअघि बाँकेमा बस दुर्घटना हुँदा बसभित्र ग्यालिनमा राखिएको पेट्रोलियम पदार्थ र ग्यासका कारण आगो फैलेर यात्रुको हताहत भएपछि कञ्चनपुरमा प्रहरीले काठमाडौँलगायतका रुटमा चल्ने सवारीसाधनमा पेट्रोलियम पदार्थ ढुवानीमा सजगता अपनाउन आग्रह गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक किशोरकुमार दाहालले लामो दूरीका सवारीसाधनमा ग्यालिनमा पेट्रोलियम पदार्थ ढुवानीमा कडाइ गरिएको बताउनुभयो ।

“ग्यालिनमा भएको पेट्रोलले नै दुर्घटनाग्रस्त बसमा आगलागी भएको घटनासमेत भयो,” बाँकेको घटनालाई स्मरण गर्दै उहाँले भन्नुभयो – “यस विषयमा हामीले सजगता अपनाउनु नै पर्छ ।” भारतले अघोषितरुपमा नाकाबन्दी गरेसँगै काठमाडौँमा पेट्रोलियम पदार्थको हाहाकार मच्चिएपछि कञ्चनपुरबाट समेत सर्वसाधारणले पेट्रोलियम पदार्थ काठमाडौँ पठाएका थिए ।

यहाँका स्थानीय जनताले काठमाडौँमा रहेका आफन्तलाई यात्रुबाहक बसमा ग्यालिनमा हालेर पेट्रोल बढी मात्रामा पढाउने गरेका छन् । उनीहरुले भारतीय सीमावर्ती सहरबाट खरिद गरी काठमाडौँ पढाउने क्रम बढेको भए पनि बाँकेको घटनापछि बस व्यवसायीले समेत पेट्रोलियम पदार्थको ढुवानीमा रोक लगाउन थालेका छन् ।

कञ्चनपुरका विभिन्न सीमानाका तथा यहाँका पेट्रोलपम्पबाट खरिद गरी स्थानीयवासीले हजारौँ लिटर तेल काठमाडौँ पठाइसकेका छन् । यहाँबाट दैनिक पाँच वटा यात्रुबाहक बस काठमाडौँंका लागि दैनिक जाने गर्दछन् ।

प्रतिक्रिया