म्याग्दीका साना तथा घरेलु उद्योगमा एक अर्ब ६० करोडको लगानी

इनेप्लिज २०७२ कार्तिक ७ गते १:५२ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ७ कात्तिक । म्याग्दी जिल्लामा सञ्चालन भइरहेका ७२७ वटा साना तथा घरेलु उद्योगमा करिब रु एक अर्ब ६० करोडको लगानी भएको छ ।

यस जिल्लामा अहिलेसम्म सञ्चालनमा आएका उद्योगको सङ्ख्या ७२७ पुगेको घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीले जानकारी दिएको छ ।

गत आवको अन्त्यसम्म जिल्लामा ६०० वटा घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको देखिएको छ । सबै उद्योगमा गरी करिब रु एक अर्ब ६० करोडको लगानी भएको समितिले बताएको छ ।

म्याग्दीमा पोल्टीफार्म, राइसमिल, फर्निचर, दूध डेरी र मोबाइल मर्मत केन्द्र थपिँदै गएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा २१२ पोल्टीफार्म, ७६ राइसमिल, ३२ वटा फर्निचर उद्योग, ७९ वटा दूध डेरीलगायतका साना तथा घरेलु उद्योग सञ्चालन भइरहेका छन् ।

यी सबै उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष गरी करिब पाँच हजार जनाले रोजगारी पाइरहेको अनुमान छ । यी उद्योगमा मासिक रु ३० करोडभन्दा बढीको कारोबार हुने गरेको प्रारम्भिक अध्ययनले देखाएको समितिले बताएको छ ।

गत आवमा राइसमिल, पोल्टीफर्म, डेन्टल क्लिनिक, मोबाइल मर्मत केन्द्र, सिलाइकटाइ प्रशिक्षण केन्द्र, माछाफार्म, बाख्राफार्म, होटल र दूध डेरीको दर्ता बढेको हो ।

सबै उद्योग व्यवसायलाई कानुनी दायरामा ल्याउन विभिन्न पक्षबाट सक्रियताका साथ सहयोग भएकाले कानुनी प्रक्रिया पु¥याएर उद्यम व्यवसाय गर्ने क्रम बढेको समितिका वरिष्ठ उद्योग अधिकृत रमेशराज रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया