पेट्रोलियम पदार्थमा बढ्यो कालोबजारी

इनेप्लिज २०७२ कार्तिक ७ गते १:५१ मा प्रकाशित

petrolलुम्बिनी (रुपन्देही), ७ कात्तिक । भारतले गरेको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्दा बजारमा पेट्रोलको कालोबजारी बढेको छ ।

भारतीय आयल निगमले नेपाल आयाल निगमलाई पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ उपलब्ध नगराउँदा बजारमा कालोबजारी बढेको हो ।

सीमा क्षेत्रमा बसोबास गर्ने तथा तराई मधेस आन्दोलनको प्रभाव परेका स्थानका अधिकांश युवाले भारतीय बजार सुनौली र नौतनवासम्म पुगेर सवारीसाधनमा पेट्रोल हालेर ल्याउने र त्यसलाई प्रतिलिटर रु २१० देखि ३५० सम्म बिक्री गर्ने गरेका छन् ।

खुल्ला ठाउँबाट बिक्री हुने उक्त पेट्रोलमा डिजेल, ताडपिन तेल, मट्टितेल, जीवनजल र पानी मिसाएर समेत बिक्री वितरण गर्ने गरिएको पाइएको छ ।

मिसावटयुक्त पेट्रोलको प्रयोगका कारण मोटरसाइकल तथा कारको इञ्जिनमा खराबी आएर हैरानी बेहोर्नु परेको प्रयोगकर्ताले बताएका छन् ।

रुपन्देहीको बेलहिया, भैरहवा बसपार्क, वनगाई, मर्चवार लुम्बिनीलगायतका स्थानमा खुलेआमरुपमा पेट्रोलको कालोबजारी हुने गरेको छ । पेट्रोलमा व्यापकरुपमा कालोबजारी बढ्दा पनि स्थानीय प्रशासन भने मौन छ ।

खुल्ला ठाउँमा खुलेआमरुपमा पेट्रोलियम पदार्थको बिक्री वितरण हुँदा आगो लाग्ने खतरासमेत बढेर गएको स्थानीयवासीको गुनासो बढेको छ ।

खुलेआम पेट्रोलियम पदार्थको कालोबजारी भएको पाइए स्थानीय प्रशासन ऐनअनुसार कारबाही अघि बढाउने रुपन्देही प्रशासनले जनाएको छ ।

प्रतिक्रिया