रिखार क्षेत्रको संरक्षणमा कुइनेमङ्गलेवासी

इनेप्लिज २०७२ कार्तिक ३ गते २:३८ मा प्रकाशित

Myagdi_district_locationबेनी (म्याग्दी), ३ कात्तिक । ‘हिमालका देवता’ को बासस्थान मानिने रिखार क्षेत्रको संरक्षण, प्रचारप्रसार र त्यस क्षेत्रको पर्यटन विकासका लागि कुइनेमङ्गलेका बासिन्दा एकजुट भएका छन् ।

जिल्ला सदरमुकाम बेनीबजारदेखि करिब ४० किमी उत्तरतर्फ धौलागिरि हिमालको फेदमा अवस्थित रिखार क्षेत्र धार्मिक दृष्टिले मात्र नभई पर्यटकीय हिसाबले समेत महत्वपूर्ण रहेको छ ।

आवश्यक प्रचारप्रसार र भौतिक पूर्वाधार अभावका कारण ‘बत्तिमुनिको अध्याँरो’ बनेको रिखार क्षेत्रको प्रचारप्रसारका लागि स्थानीयले जिल्लाका सरोकारवाला निकायलाई जानकारी गराउनेदेखि लिएर सो क्षेत्रको सरसफाइ र गोरेटोबाटो निर्माणमा जुटेका हुन् ।

स्कन्दपुराणका अनुसार द्वापरयुगमा देवी देवता र ऋषिमुनिले तपस्या गर्ने रिखार क्षेत्र मनमोहक प्राकृतिक वातावरण, जैविक र सांस्कृतिक विविधता, वन्यजन्तु तथा पक्षीका कारण आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्ने प्रबल सम्भावना रहेको स्थानीय दर्शन छन्त्यालले बताउनुभयो ।
त्यस क्षेत्रको पर्यटकीय विकासमा सक्रिय रहँदै आएका बमबहादुर शेरपुञ्जाका अनुसार संरक्षणको अभावमा मन्दिर जीर्ण बनेको छ भने छन्त्याल, मगरलगायत भाषाका शिल्पलिपी नष्ट हुने अवस्थामा छन् ।

त्यस क्षेत्रको सम्भावनाका बारेमा केही वर्षअघि स्थानीय निकायको अगुवाइमा स्थलगत अवलोकन पनि भएको थियो । सरोकारवालाको बेवास्ताका कारण अध्ययन प्रतिवेदन अहिले अलपत्र परेको छ ।

रिखार क्षेत्रमा पुग्न उचित बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाको निर्माणतर्फ सबैको ध्यान पुगे त्यहाँको विकास हुने स्थानीय बासिन्दा देउमान घर्तीको भनाइ छ । तलाउको जलले स्नान गरी भगवान्को पूजा अर्चना गर्नाले भगवान्को लोक पाउने र पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।
रिखार क्षेत्रमा चुरे पहाडमा देखिने सुन्दर छहरा, गुफा, रघुगङ्गा नदी, सांस्कृतिक रुपमा अन्यभन्दा पृथक जीवनशैलीमा रमेका छन्त्याल जातिको रहनसहन र प्राकृतिक दृश्यावलोकनले त्यहाँ पुग्ने जो कोहीको मन लोभिन्छ ।

प्रतिक्रिया