काँग्रेस, एमालेबीच समझदारी कायम राख्नुपर्छ: मन्त्री खरेल

इनेप्लिज २०७२ कार्तिक २ गते १३:२३ मा प्रकाशित

Agni-Kharelदमक, २ कात्तिक । सरकारका प्रवक्ता तथा कानुन तथा न्यायमन्त्री अग्नि खरेलले संविधान कार्यान्वयन गर्नका लागि काँग्रेस, एमालेबीच समझदारी कायमै राख्नुपर्ने बताउनुभएको छ ।

एमाले र काँग्रेसबीचको सम्बन्ध औपचारिकरुपमा सत्ता र प्रतिपक्षको रहन पुगेको उल्लेख गर्दै मन्त्री खरेलले जारी संविधानभित्रका राम्रा र नराम्रा पक्षप्रति दुवै समान जवाफदेही हुनुपर्ने बताउनुभयो ।

आज झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा कानुनमन्त्री खरेलले अघिल्लो महिना जारी संविधान समय अनुकूल बनाउँदै लैजान दुई ठूला दलबीचको समझदारी सधँै आवश्यक भएको पनि बताउनुभयो । “यी दुवै दलको अगुवाइमा संविधान जारी भएको छ, अब यसको रक्षा गर्न पनि दलीय समझदारीको विकल्प नभएको उहाँको भनाइ थियो ।

भारतबाट सहजरुपमा इन्धन नआएको बताउँदै उहाँले इन्धनका लागि नेपालले अन्तिम समयमा मात्र भारतको विकल्प खोज्ने स्पष्ट गर्नुभयो । “भारत र नेपालबीचको सम्बन्धको महत्व अत्यधिक छ, तर यो कुरा दुवै मुलुकले उत्तिकै ध्यानसाथ बुझ्नु पर्दछ ।” मन्त्री खरेलले दुवै देशको सम्बन्ध थप प्रगाढ बनाउन वर्तमान सरकार लागि परेकोसमेत बताउनुभयो ।

प्रतिक्रिया