आठ किलो चरेससहित दुई जना पक्राउ

इनेप्लिज २०७२ कार्तिक १ गते १४:१४ मा प्रकाशित

Chares-brown-sugerभीमदत्तनगर, १ कात्तिक । प्रहरीले आठ किलो चरेससहित कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट आज दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले कृष्णपुर नगरपालिका–२ रोकायाटोलका ६५ वर्षीय खड्कबहादुर रोकाया र ४० वर्षीय पद्मराज भट्टलाई चरेससहित पक्राउ परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरी चरेससहित अभियुक्त सार्वजनिकसमेत गरेको छ । सो अवसरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक किशोरकुमार दाहालले अभियुक्त खड्काको घरमा लुकाइछिपाइ राखेको अवस्थामा चरेस फेला परेको जानकारी दिनुभयो ।

“विशेष सुराकीका आधारमा चरेसबारे थाहा भएको हो”– उहाँले भन्नुभयो– “प्रहरीको संयुक्त टोलीले बिहान घरमै छापा मारेर पक्राउ गर्न सफल भयो ।” अभियुक्त दुवै जनालाई लागुऔषध बेचबिखन तथा ओसारपसार ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया