दसैँका लागि आइपुग्यो च्याङ्ग्रा

इनेप्लिज २०७२ असोज २९ गते १०:१५ मा प्रकाशित

Rss_Images_1444984048619_RT-Baglung-Vedaभक्तपुर, २९ असोज । दसैँको लागि यस वर्ष मुस्ताङबाट तीन हजार पाँच सय च्याङ्ग्रा भक्तपुरको सल्लाघारी ल्याई पुर्‍याइएको छ । इन्धन अभावले गाडी भाडा महँगो भएपछि यसवर्ष खसीभन्दा च्याङ्ग्रा निकै महँगो भएको हो ।

गतवर्ष चीनको तिब्बतबाट समेत आयात हुने भेँडा–च्याङ्ग्रा यसवर्ष भने तातोपानी नाका बन्द भएकाले मुस्ताङबाट मात्रै ल्याइएको हो । मुस्ताङ मै भेडा–च्याङ्ग्रा महँगो भएकाले यसवर्ष ल्याइएको च्याङ्ग्राको मूल्य पनि महँगो भएको सिन्धुपाल्चोक जलबिरेका व्यापारी बलबहादुर श्रेष्ठले बताउनुभयो ।

यसवर्ष सल्लाघारीमा ल्याइएको च्याङ्ग्रा प्रतिकिलो रु. ६५०, भेडा प्रतिकिलो रु.६०० र खसी प्रतिकिलो रु.४५० मा बिक्री भइरहेको छ ।

सिन्धुपाल्चोक जलबिरे कै अर्का व्यापारी पशुपति सिलवालले मुस्ताङ मै भेडा–च्याङ्ग्रा महँगो भएको र इन्धन अभावले गाडी भाडा महँगो भएपछि यहाँ पनि महँगो मै बिक्री गर्नुपरेको बताउनुभयो ।

सिन्धुपाल्चोक कै अर्का व्यापारी रमेश खड्काले मुस्ताङको घारमा एउटा च्याङ्ग्राको रु. १७ हजारदेखि १८ हजारसम्म तिर्नुपरेको बताउनुभयो । त्यसमाथि पनि जोमसोम, घासा र तातोपानीमा कर तिर्नुपर्दा समस्या आएको उहाँको भनाइ छ ।
करिब २०० वटा भेडा–च्याङ्ग्रा गाडी नपाएकै कारण जोमसोम मै अलपत्र परेको उहाँले बताउनुभयो । गतवर्ष भने भेडा रु ५५०, च्याङ्ग्रा रु. ६०० र खसी रु. ४५० मा बिक्री भएको थियो । सल्लाघारीमा यसवर्ष भने खसीको मूल्य बढेको छैन, रु. ४५० मै बिक्री भइरहेको छ ।

गतवर्ष भने सल्लाघारीमा एक हजार तीन सय च्याङ्ग्रा र ७० वटा भेडा ल्याएइको थियो ।

प्रतिक्रिया