स्वास्थ्य चौकीमा अपाङ्गतामैत्री र्‍याम्प निर्माण

इनेप्लिज २०७२ असोज २८ गते १:४० मा प्रकाशित

jumla_nepal-mapजुम्ला, २८ असोज । जुम्लाको तातोपानी गाविसको स्वास्थ्य चौकीमा अपाङ्गतामैत्री र्‍याम्प निर्माण गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिलाई स्वास्थ्य सेवा लिन सहज होस् भन्ने हेतुले गैरसरकारी संस्था आइएनएफ जुम्लाले र्‍याम्प निर्माण गरेको हो ।

आइएनएफ कार्यक्रम जुम्लाको करिब रु ३८ हजार सहयोग तथा तातोपानी स्वास्थ्य चौकीको साझेदारीमा २० मिटर लामो र्‍याम्प निर्माण कार्य सम्पन्न भएको हो ।

र्‍याम्प अपाङ्गतामैत्री बनेपछि बिरामी, गर्भवती, अपाङ्गता भएका व्यक्तिका साथै ज्येष्ठ नागरिकको उपचारको क्रम बढेको चौकी इन्चार्ज कमलसिंह कठायतले जानकारी दिनुभयो । उहाँका अनुसार सानो लगानी भए पनि यो कार्य नतिजामुखी भएको छ ।

यसअघि जुम्ला अपाङ्ग पुनःस्थापना तथा विकास केन्द्रले जिल्लामा बन्ने सबै नयाँ संरचना अपाङ्गमैत्री बनाउने सवालमा वकालत गर्दै आएको छ ।

सरकारले २०६९ सालमा नेपाल सरकारका सबै भौतिक संरचना अनिवार्य अपाङ्गमैत्री बनाउनुपर्ने निर्देशिका ल्याए पनि त्यसको सही कार्यान्वयन हुन नसकेको केन्द्रका महासचिव रामकृष्ण न्यौपानेले बताउनुभयो । गाविसस्तरमा यसलाई पहिलो नमुना र्‍याम्पका रुपमा लिइएको छ ।

प्रतिक्रिया