घट्ने भयो धानको उत्पादन

इनेप्लिज २०७२ असोज २७ गते १३:५७ मा प्रकाशित

Dhanकञ्चनपुर, २७ असोज । बढ्दो रोगकिराको प्रकोप र प्रर्याप्त पानी नपर्दा यस बर्ष कञ्चनपुरमा धानको उत्पादनमा कमी आउने भएको छ ।

रोग किराको प्रकोप, नहरमा प्रर्याप्त पानी नछाडनु र धानको बाला लाग्ने बेला एक महिनासम्म पानी नपर्दा धानको उत्पादनमा कमी आउने भएको हो । कृषि विकास कार्यालयका अनुसार असोज महिनाको हालसम्म धान भित्र्याउने कृषकको सङ्ख्या ७० प्रतिशतको हाराहारीमा हुनुपर्नेमा १० प्रतिशतले मात्रै भित्र्याउन पाएका छन् ।

“धानको उत्पादनमा १५ देखि २० प्रतिशतले कमी आउने अनुमान गरेका छौँ” वरिष्ठ कृषि विकास अधिकृत टिकाराम थापाले भन्नुभयो ।

यहाँका कृषकले साबित्ति, राधा–४, जानकी, राममपुर मन्सुली, खुख्खा–३, सर्जु ५२, हर्दिनाथ–१, स्वर्ण सब–१ लगायतका उन्नतजातका धानको खेती गर्दै आएका छन् । प्राकृतिक प्रकोपका कारण यहाँ धान उत्पादन बढ्नुको साटो घट्दै आएको कृषि प्राविधिक कलकबहादुर सिंहले बताउनुभयो ।

छ बर्षदेखि निरन्तररुपमा धानको उत्पादनमा औषतरुपमा १० प्रतिशतले ह्रास आएको छ । कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । जिल्लाका झलारी–पिपलाडी नगरपालीका, बेलौरी नगरपालीका, पूर्नवास नगरपालीका, भीमदत्त नगरपलीका, बेलडाँडी नगरपालीका, कृष्णपुर नगरपालीकालगायतका क्षेत्र धान उत्पादनका दृष्टिकोणले राम्रा मानिन्छन् ।

कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार आव २०७०/७१ मा ४८ हजार ७९६ हेक्टर क्षेत्रफलमा लगाइएको धानको उत्पादन एक लाख ४८ हजार ८७२ मेट्रिकटन रहेकोमा आव २०७१÷७२ मा सोही क्षेत्रफलमा उत्पादन बढेर एक लाख ४९ हजार २२ मेट्रिकटन पुगेको थियो ।

प्रतिक्रिया