भूकम्पमा बचेको राहत विद्यालयका बालबालिकालाई वितरण गरिने

इनेप्लिज २०७२ असोज २७ गते ४:२९ मा प्रकाशित

गोरखा, २७ असोज । भूकम्पपीडितका लागि विभिन्न सङ्घसंस्थाले उपलब्ध गराएर अहिले बचेका खाद्य सामग्री विद्यालयका बालबालिकालाई दिइने भएको छ ।

खाद्य क्लस्टरको आज बसेको बैठकले सेनाको टुँडिखेल गुल्म परिसरको भण्डारण घरमा राखिएको खाद्यान्न सामग्री विभिन्न विद्यालयमा आवासीय सुविधासहित रहेका बालबालिकालाई वितरण गर्ने निर्णय गरेको हो ।

हिमाली भेगका आवासीय विद्यालय तथा गुम्बाका बालबालिका र तल्लो भेगको पनि आवासीय सुविधासहित पढिरहेका विशेष क्षमता भएका बालबालिकालाई उपलब्ध गराउने निर्णय भएको खाद्य क्लस्टरका संयोजकसमेत रहेको वरिष्ठ जिल्ला कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले बताउनुभयो ।

हिमालपारिका गौरी शङ्कर निमावि सामागाउँ, नुब्री प्रावि प्रोक र बुद्ध मावि सिर्दिबासका आवासीय बालबालिकालाई उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै बालमन्दिर माविका अनाथ, महेन्द्रज्योतिमा रहेका सुस्त, सरस्वती उमाविमा रहेका दृष्टिविहीन, मनकामना बहिरा माविमा रहेका बहिरा विद्यार्थीलाई वितरण गर्ने निर्णय भएको उहाँको भनाइ छ । वायर हाउसमा बिस्कुट, चाउचाउ, सुप, केक, साबुन लगायतका सामग्री बाँकी रहेको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ ।

प्रतिक्रिया