नमस्तेको टावर बन्द हुँदा एक दिन हिँडेर फोन गर्न बाध्य

इनेप्लिज २०७२ असोज २७ गते २:३७ मा प्रकाशित

nepal-telecomजाजरकोट, २७ असोज । यहाँको अति दुर्गम स्थानमा रहेको नेपाल टेलिकमको नमस्तेको टावर बिग्रँदा समस्या हुँदै आएको छ । असार पहिलो सातादेखि भगवतीको फाम्दामा रहेको नमस्तेको टावरमा खराबी आएको हो ।

टावर मर्मत गर्नेतर्फ सम्बन्धित निकायको लापरबाहीले गर्दा करिब चार महिनादेखि यहाँका स्थानीयवासी टेलिफोन सेवाबाट वञ्चित भएका छन् । यो जिल्लाको सबैभन्दा दुर्गम स्थान हो । जाजरकोटको भगवती, रुकुमको गोतामकोट, खदी, लगायतका गाविसका हजारभन्दा बढी स्थानीयवासी चार महिनादेखि टेलिफोन सेवाबाट वञ्चित छन् । फोन गर्नका लागि एक दिन हिँडेर रग्दा गाविसमा आउनुपर्ने बाध्यता रहेको स्थानीयवासी मोहन बस्नेतले जानकारी दिनुभयो ।

दुई हप्ताअघि भगवती पुगेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई टेलिफोन सेवा मर्मतका लागि पहल गरिदिन स्थानीयवासीले अनुरोध गरेका थिए ।
दसँै, तिहारजस्ता चाडपर्वको बेला विदेश तथा घरमा आउन नपाएका आफन्तसँग कुराकानी गर्न यहाँका स्थानीयवासी एक दिन हिँडेर रग्दा आएर फोन गर्नु बाध्यता भएको भगवती गाविसका नवीन सिंहले गुनासो गर्नुभयो । यता नेपाल टेलिकमले भने छिट्टै मर्मत हुने बताएको छ । यो ठाउँमा अन्य कुनै पनि फोनले काम गर्दैनन् ।

प्रतिक्रिया