खोटाङमा ‘देशको मुटु दुखेको छ’ मञ्चन

इनेप्लिज २०७२ असोज २७ गते २:१७ मा प्रकाशित

खोटाङ, २७ असोज । खोटाङको सदरमुकाम दिक्तेलमा नाटक ‘देशको मुटु दुखेको छ’ मञ्चन गरिएको छ । खोटाङकै बुइपाका स्रष्टा ओमप्रकाश घिमिरे (अटल क्रान्तिकारी)को नाटक जिविसको समीक्षालय हलमा मञ्चन गरिएको हो ।

सम्पत्ति कमाउने नाममा विदेशमा ज्यान गुमाएर कफनमा फर्काइने युवा, पैसाको सट्टा रित्तै फर्कने युवा, जवान छोराछोरीको अभावमा बुढेसकालमा बाबुआमाले पाएको दुःख लगायतका दृश्यले दर्शकलाई भावविह्वल बनाएको थियो । पछिल्लो समय सन्देशमूलक सडक नाटक तथा हास्यव्यङ्ग्य प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियाशिलतामा स्थापना गरिएको भ¥याङ नाट्य समूहले मङ्गलबार नाटक मञ्चन गरेको हो ।

बेरोजगारी समस्या, रोजगार खोज्दै परदेसिने युवाको पीडा, गाउँमा युवा नहुँदा वृद्धवृद्धाले खेप्नु परेका लगायतका समस्या समेटिएको नाटकले घरेलु दर्शकको मन छोएको छ । नाटकमा दर्शकले योगिन राई, प्रकाश रिजाल, राजेन्द्र ढुङ्गाना, सञ्जीव राई, सुजन श्रेष्ठ, यशोधा राई, देवी राई, मायाँ राई, पर्सना राई, सबिना राईलगायतले आ–आफ्नो कला देखाएका थिए ।

प्रतिक्रिया