वार्ताबाटै समस्या समाधान गर्न मधेसी मोर्चा तयारः ठाकुर

इनेप्लिज २०७२ असोज २६ गते १२:२६ मा प्रकाशित

mahanta-takurकाठमाडौँ, २६ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताबाटै अहिलेको जारी गत्यावरोधको अन्त्यका लागि आफू तयार रहेको बताउँदै त्यसका लागि सरकार गम्भीर नभएको बताएको छ ।

मोर्चाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुले बनाएको वार्ता टोलीलाई एक हप्ता बितिसक्दा समेत नबोलाइएको भन्दै गुनासो गर्नुभयो ।

मोर्चाको आज बसेको बैठकले जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिनेसमेत निर्णय गरेको छ । तमलोपाका अध्यक्ष ठाकुरले नजिकिँदो चाडपर्वका लागि ‘बन्द केही खुकुलो भईदियोस्’ भन्ने जनताको चाहना आफूहरुले पनि बुझेको भन्दै त्यसका लागि मोर्चाभित्र छलफल चलिरहेको जानकारी दिनुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी, थारु, उत्पीडितलगायतको हक अधिकार सुनिश्चित नभएसम्म आफूहरुको आन्दोलन यथावत रहने बताउनुभयो ।

आइतबार प्रधानमन्त्रीका लागि भएको निर्वाचन प्रक्रियामा भाग लिनु नयाँ संविधानलाई स्वीकार गरेको अर्थमा लिन नहुने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सडक र संसद्भित्रको सङ्घर्षलाई समायोजन गर्न, सर्वोच्च अदालतले प्रधानमन्त्रीको निर्वाचनमा अनुपस्थित र तटस्थ बस्न नपाइने भनी गरेको फैसलाको सम्मान गर्दै हामीले प्रधानमन्त्रीको निर्वाचनमा भाग लिएका हौँ ।”

मोर्चाले ५९ दिनदेखि तराई, मधेसमा जारी आन्दोलनलाई सत्तापक्षले गम्भीरतापूर्वक नलिँदा थप जटिलता उत्पन्न भएको ठहरसमेत गरेको छ ।

प्रतिक्रिया