भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद

इनेप्लिज २०७२ असोज २५ गते ३:५३ मा प्रकाशित

सुरुङ्गा (झापा), २५ असोज । झापाको काँकडभिट्टा नाकाबाट भन्सार छलेर नेपाल भित्र्याइएको रु दुई लाख ५६ हजार ४०० मूल्य बराबरको लत्ताकपडा सशस्त्र प्रहरीले गएराति बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाबाट खटिएको सशस्त्र प्रहरी नायब निरीक्षक यादव दाहालको नेतृत्वको टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत दुवागढी – ४ स्थित चारआलीको कालिझोडाबाट सो सामान बरामद गरेको सीमा सुरक्षा कार्यालय झापाले जनाएको छ ।

काँकडभिट्टामा पोकाहरु सङ्कलन गरी बिर्तामोडतर्फ यात्रुबाहक बसमा हालेर ल्याइरहेको विशेष सूचनाका आधारमा प्रहरीले सात पोका लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक शान्तिराम कार्कीले जानकारी दिनुभयो ।

बरामद गरिएको कपडालाई मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।

होटल तथा लजमा लागुऔषधको कारोबार

झापाको बिर्तामोडमा सञ्चालित होटल तथा लजमा लागुऔषध कारोबार हुने गरेको रहस्य बाहिर आएको छ ।

बिर्तामोड नगरपालिका– ६ स्थित विष्णु होटलबाट आठजना लागुऔषध सेवनकर्तालाई प्रहरीले रङ्गेहात पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।

पक्राउ पर्ने तेहथुम तम्फुल– ४ निवासी ३२ वर्षीय खगेन्द्र सुवेदी, ताप्लेजुुङ सामा– २ निवासी ३० वर्षीय सञ्जयकुमार लिम्बू, इलाम दानाबारी– ९ निवासी ३० वर्षीय अमर राई, दानाबारी– ३ निवासी ३५ वर्षीय कमल विक रहेका छन् ।

त्यस्तै इलाम दानाबारी– ९ निवासी ३२ वर्षीय भोजबहादुर राई, झापा खुदनाबारी– ३ निवासी ३१ वर्षीय लोकनाथ श्रेष्ठ, सोही ठाउँका ४० वर्षीय ईश्वर बोहरा, बनियानी– ८ निवासी २२ वर्षीय रोशन घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुले होटलभित्रको कोठामा बसी खैरो रङको तीन ग्राम ब्राउनसुगर, सेतो धुलोजस्तो ब्राउन सुगर २२० मिलीग्राम, ब्राउन सुगर सेवन गर्न नोटले बनाएको बेरिएको रोल, चुरोट र सिक्कालगायत सामग्री बरामद गरेको झापाका प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो ।

होटलभित्र लागुऔषध सेवन हुने गरेको विशेष सूचनाका आधारमा पक्राउ परेका आठजनालाई इलाका प्रहरी कार्यालय बिर्तामोड राखेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया