देवीको नाममा प्राणी हत्या धार्मिक कार्य होइन

इनेप्लिज २०७२ असोज २४ गते १५:५७ मा प्रकाशित

पशुबलिको विषयमा भएको गोष्ठीको तस्वीर 1काठमाडौं, आश्विन २४ । धर्मसंस्कृतिको नाममा मठ–मन्दिरमा हुँदै आएको पशुपँक्षिको बलि जायज छ कि छैन र यो धर्मशास्त्रसम्मत हो कि होइन भन्ने जस्ता जिज्ञाशाहरूको समाधान गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वर स्थित कवीर सत्सङ्ग आश्रममा आइतवार एक दिवसीय विचार गोष्ठी सम्पन्न भएको छ । पशुबलि निषेध चेतना अभियानलगायतका अहिंसावादी संघसंस्थाहरूको संयुक्त आयोजनामा भएको सो विचार गोष्ठीले पशुपँक्षिको बलि धर्म–शास्त्रसम्मत नभएको निस्कर्ष निकाल्दै मठमन्दिरमा पशुपँक्षिको बलि नगर्न अनुरोधसमेत गरेको अनन्त ज्योति ध्यान केन्द्रका महासचिव विष्णुप्रसाद न्यौपानेले न्यूज टिमलाई बताउनु भएको छ ।

पशुबलिको विषयमा भएको गोष्ठीको तस्वीर 2

गोष्ठीमा वेद–वेदान्तका विद्वान प्रा. शिवगोपाल रिसालले ‘पशुबलि नगर्नु नै राम्रोः यसबाट कसैको कल्याण हुँदैन’ शीर्षकको र बरिष्ट चिकित्सक डा. हेमराज कोइरालाले ‘शाकाहार ः जीवनको आधार’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

पशुबलिको विषयमा भएको गोष्ठीको तस्वीर 4धर्मशास्त्र वेदमा पनि अश्वमेध, गोमेध आदि यज्ञको कुरा छ र सो यज्ञमा पनि त घोंडालगायतको बलि गरिने व्यवस्था छ भनिन्छ नि ? भन्ने सहभागीहरूको जिज्ञाशामा प्रा. रिसालले मेध भनेको मार्ने भनेको होइन, मेधको अर्थ सुघ्नु लगायत पनि हुन्छ भन्नुभयो । मेध तथा बलिको अर्थ मार्नु नभएर त्यसको तात्त्विक अर्थ लगाउनु पर्छ । बलि र मेध जस्ता शास्त्रीय शब्दको अपव्याख्या भएको छ । आदि शक्ति भगवती जगत्जननी माताले आफ्ना सन्तानको रगत खाँदिनन् । बलि श्रुतिले बताए अनुसार विधिपूर्वक र नियमपूर्वक गर्ने याज्ञिक कर्म हो र त्यस प्रकारको यज्ञ कलियुगमा सम्भव नभएको तथा देवीको नाममा प्राणी हत्या गर्नु कुनै पनि हालतमा धार्मिक कार्य नभएको उहाँको कथन थियो ।

प्रा. शिवगोपाल रिसाल

ब्रह्मनिष्ठ विद्वान मानिनु हुने रिसालको कार्यपत्रमा धर्मको नाममा मठमन्दिरमा गरिने पशुपँक्षिको बलि धर्मको नाममा कलंक भएको र यसले सनातन धर्मलाई ओझेलमा पार्ने काम गरेको जस्ता भाव समाहित भएको थियो । पशुपँक्षिको बलि धर्म तथा शास्त्रसम्मत नभएको विषयमा कसैले शास्त्रार्थ गर्न आउँछ भने पनि आफू तयार रहेको प्रा. रिसालको भनाइ थियो ।
योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सा अस्पताल भरतपुर १ वागीश्वरी चितवनका मेडिकल डाइरेक्टरसमेत रहेका डा. हेमराज कोइरालले प्रस्तुत गर्नुभएको कार्यपत्रले मांसाहारको लागि पालन गरिने जीवजन्तुबाट पर्यावरण तथा वातावरणमा पुर्याएको नकारात्मक असरले जलवायु परिवर्तनमा सबैभन्दा ठूलो भूमिका निर्वाह गरेको, मेडिकल साइन्सको अनुसन्धानमा पनि मांसाहार मानव स्वास्थ्यको लागि अभिसाप पुष्टि भएको र विश्वको मानव समुदायले शाकाहार जीवन शैली अप्नाउनु उपयुक्त हुने भावलाई समेटेको थियो । कोइरालाले प्रस्तुत गर्नुभएको कार्यपत्रको तयारीमा चितवन मेडिकल एण्ड टिचिङ्ग हस्पिटल कलेज अफ नर्सिङ्गकी सह–प्राध्यापक ममता शर्मा न्यौपानेको समेत सहभागिता रहेको सो कार्यपत्रले शाकाहार र मांसाहारको विषयमा स्वास्थ्यगत दृष्टिकोणबाट तुलनात्मक डाटाहरूलाई समेत समावेश गरेको देखिन्छ ।

ममता न्यौपानेगोष्ठीमा बौद्धधर्म गुरु भन्ते आङ्फुरि शेर्पा, कवीर सन्त आर्दश दासलगायतका व्यक्तित्त्वहरूले अहिंसाको विषयमा अभिव्यक्ति दिनु भएको थियो । गोष्ठी पशुबलि निषेध चेतना अभियानका संयोजक विकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया