सिन्धुपाल्चोक सुनसान

इनेप्लिज २०७२ असोज २४ गते ४:३६ मा प्रकाशित

मेलम्ची, २४ असोज । भारतले गरेको अघोषित नाकाबन्दीले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा, मुख्य बजार बाह्रबिसे तथा मेलम्चीमा पनि जनजीवन कष्टकर भएको छ । अरनिको र हेलम्बु राजमार्गमा सधैँजसो सयौँ सङ्ख्यामा चल्ने सवारी साधन पेट्रोलियम पदार्थको अभावका कारण अहिले नगन्य सङ्ख्यामा चल्ने गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक चन्द्र थापाले बताउनुभयो ।

नेपालीहरुको महान् चाड दसैँ तिहार नजिकिँदै गर्दा पनि सामान ल्याउन नसक्दा जिल्लाको मेलम्ची, चौतारा र बाह्रबिसेबजार सुनसान बनेको छ । स्थानीयवासी ग्यासको अभावमा दाउराबाट पकाएर हातमुख जोर्न बाध्य छन् ।

यो समयमा पोहोर साल लाखौँ व्यापार हुने गरेको र अहिले नाकाबन्दीका कारण उपभोक्ताका लागि चाहिने तेल, जिरा, नुन, चिउरालगायतका खाद्य सामग्री ल्याउन नपाएका कारण व्यापार चौपट भएको मेलम्चीका व्यापारी भक्त श्रष्ेठले दुःखेसो पोख्नुभयो ।

सवारी साधन नचल्दा सधैँ झँै जिल्लाका विभिन्न सरकारी कार्यालयमा विभिन्न कामले सयौँको सङ्ख्यामा आउने गरेका जिल्लावासी पहिलेको तुलनामा निकै कम मात्रामा देखिने गरेको सहायक जिल्ला प्रमुख अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो ।

हिँडेर विद्यालय जान समस्या भएकाले विद्यार्थीलाई विद्यालयसम्म पुग्न निकै समस्या भएकाले आफ्ना बालबालिकाका लागि कसरी विद्यालयसम्म पठाउने हो यस विषयमा निकै चिन्तित भएको जिल्लावासीको गुनासो रहेको छ ।
नाकाबन्दीका कारण समस्या झेल्दै आएका जिल्लावासी सबैमा भारतप्रति नकारात्मक सोच बढ्दै भएको माङ्खा गाविसका वासुदेव बडालले बताउनुभयो ।

प्रतिक्रिया