पशुपतिनगर नाकाबाट इन्धनको कालो बजारी

इनेप्लिज २०७२ असोज २४ गते ४:३२ मा प्रकाशित

downloadइलाम, २४ असोज । भारतले गरेको अघोषित नाकाबन्दीबाट देशमै पेट्रोलियम पदार्थको हाहाकार भइरहेका बेला इलामको पूर्वी नाका पशुपतिनगरबाट भने दैनिक दुई हजार लिटरभन्दा बढी पेट्रोलियम पदार्थ नेपाल भित्रिरहेको छ ।

भारतको दार्जिलिङ, सिक्किम क्षेत्रबाट भारतीय गाडीले इन्धन भरेर इलामको पशुपतिनगरमा बिक्री गर्न थालेका छन् ।

उनीहरूले पशुपतिनगरमा पेट्रोल रु १५० देखि १६० सम्म र डिजेल रु ११५ देखि १२० सम्म बिक्री गरिरहेका छन् ।

सरकारले पर्याप्त इन्धन उपलब्ध नगराउँदासम्म भारतबाट यसरी नै इन्धन बिक्री भइरहन्छ, पशुपतिनगर उद्योग वाणिज्य सङ्घका सल्लाहकार मिलन क्षेत्रीले भन्नुभयो – “नेपालमा नपाएपछि महँगोमा भए पनि भारतीय इन्धन खपत गर्नुपरिरहेको हो ।”

भारतीय गाडीहरू यतिबेला यात्रु बोक्नेभन्दा पनि अवैध तरिकाले इन्धन ओसारपसारमा लागेका छन् । भारतीय गाडीले फुलट्याङ्की तेल भरेर पशुपतिनगरमा नेपाली व्यापारी र सवारी साधनलाई बिक्री गर्ने क्रम बढेकाले अहिले सीमावर्ती पशुपतिनगर बजारमा भारतीय रुपैयाँको अभाव भएको छ ।

तेल खरिद गरेपछि भारतीय रुपैयाँ दिनुपर्छ, तेलकै कारणले पशुपतिनगरमा भारु अभाव चरम भएको छ, क्षेत्रीले रासससँग भन्नुभयो – “इन्धनका कारण भारुको अभाव सिर्जना भयो ।”

इन्धन केही महँगो भए पनि उपभोक्ताले खरिद गरिरहेका छन् । भारतीय व्यापारीबाट इन्धन खरिद गरेर इलामको पशुपतिनगर, फिक्कल, इलाम बजार, बिब्ल्याँटेसम्म पुग्न थालेको छ ।

भारतबाट पूर्वी नाका पशुपतिनगरबाट ल्याइएको इन्धनमा जिल्लामा व्यापक कालोबजारी भए पनि प्रशासन मौन छ । दैनिक दुई हजार लिटरभन्दा बढी इन्धन भित्रिएर कालोबजारी भए पनि प्रहरी, प्रशासन मौन रहेकाले सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

सीमा क्षेत्रमा रहेको सीमा सुरक्षा बल (एसएसबी) भारतीय गाडीहरूले इन्धनको व्यापार गरेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्न थालेको छ ।

“भारतले नेपालमा नाकाबन्दी गरेको छ, त्यसैले नेपालतर्फ इन्धन बिक्री गर्न पाइँदैन” – एसएसबीको भनाइ उद्धृत गर्दै एक भारतीय व्यापारीले भने । पशुपतिनगरमा दैनिक रु १० लाखभन्दा बढीको इन्धनको कारोबार भइरहेको छ । पशुपतिनगर ल्याइएको इन्धन जिल्लाका विभिन्न बजारका साथै रात्रिबसमा हालेर काठमाडौँसमेत पु¥याउन थालिएको छ ।

इन्धनको सहज आपूर्ति नहुँदा पशुपतिनगरबाट चल्ने रात्रिबसले अग्रिम बुकिङ काउन्टरसमेत खुलाउन नसकिएको सुदूरपूर्व रात्रिबस व्यवसायी सङ्घका सचिवसमेत रहनुभएका क्षेत्रीले भन्नुभयो – “इन्धनको अभावका कारण धेरै समस्या छ ।”

विराटनगरको जोगवनी, रुपन्देहीको बेलहिया, झापाको काँकडभिट्टालगायत विभिन्न नाकाबाट इन्धन आयात नभइरहेको अवस्थामा पशुपतिनगरबाट सहज रूपमै इन्धन खपत भइरहेको स्थानीय बासिन्दाले बताएका छन् ।

प्रतिक्रिया