इन्धनको अभावले स्याउ ढुवानीमा समस्या

इनेप्लिज २०७२ असोज २२ गते ११:२५ मा प्रकाशित

apple-apple-on-treeपोखरा, २२ असोज । इन्धनको चरम अभावले मुस्ताङका कृषकले उत्पादन गरेको स्याउ ढुवानीमा समस्या परेको छ ।

इन्धनको अभावले ढुवानी गर्ने साधन नपाइने पाइए पनि चर्को भाडा तिर्नुपरेकोले खरिद गरेको स्याउलाई बजारसम्म पुर्‍याउन व्यापारीलाई कठिनाई परेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले बताउनुभयो ।

एक महिना अघिदेखि कृषकले स्याउ टिप्न सुरु गरेकामा हालसम्म ५० प्रतिशत स्याउ टिपेर बिक्री गरिसकेको बताइएको छ । यस वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिकटन स्याउ उत्पादन भएको अनुमान गरिएको छ ।

यो वर्ष जिल्लामा करिव रु ४० करोडभन्दा बढी मूल्यको स्याउ उत्पादन भएको अधिकारीले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा चार हजार मेट्रिकटन मात्रै स्याउ उत्पादन भएको थियो ।

यो वर्ष स्याउको फूलफूल्ने बेलामा असिना पानी र हिउं परेकोले पाँचदेखि सातप्रतिशत उत्पादन घटने विश्वास गरिएको छ । तर जिल्लामा यस वर्ष गत वर्षको भन्दा पाँच हेक्टर बढी स्याउ उत्पादन क्षेत्र विस्तार गरिएको छ ।

“गत वर्ष ३३० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएकोमा यस वर्ष ३३५ हेक्टर क्षेत्रफलमा स्याउ रोपिएको छ” उहाँले भन्नुभयो ।

गत वर्ष करिव रु ४० करोड मूल्यको स्याउ बिक्री भएको थियो । अहिले मुस्ताङमा प्रतिकिलो रु ८० देखि रु ८५ मा स्याउ बिक्री हुने गरेको छ ।

जिल्लाका १६ गाविसमध्ये १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । स्याउ बढी उत्पादन हुने गाविसमा टुकुचे, मार्फा, कागवेनी, छुसाङ्ग छन् भने मुक्तिनाथ, जोमसोम, झोङ्ग, घमी, चतान, खुर्साङ्ग र कोवाङ्गमा पनि स्याउ उत्पादन हुने गरेको छ ।

जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील क्षेत्र मानिन्छ ।
पोखरा, बागलुङ्ग, म्याग्दी, पर्वतलगायतका व्यापारी कृषकको वगैचामा गई बोटबाटै ठेक्कामा स्याउ खरिद गर्ने गरेका छन् ।

प्रतिक्रिया