पशुबलि धर्मसम्वत छ वा छैन, विचार गोष्ठी गरिने

इनेप्लिज २०७२ असोज २१ गते २१:५९ मा प्रकाशित

काठमाडौं । नेपालीहरूको महान् पर्व दशैं नजिकिँदै आएको मौका पारेर अहिंसावादी संघसंस्थाहरूको संयुक्त आयोजनामा पशुपँक्षिबलि उचित छ वा छैन भन्नेलगायतका सवालहरूको विषयमा छलफल गर्न विचार गोष्ठीको आयोजना गरिएको बताइएको छ । धर्मदर्शन एवं वेदान्तका विद्वान प्रा. शिवगोपाल रिसाल र बरिष्ठ चिकित्सक डा. हेमराज कोइरालाको कार्यपत्रमाथि छलफल हुने सो विचार गोष्ठी काठमाडौंको मध्यबानेश्वरमा अवस्थित कवीर आश्रममा हुने पशुबलि निषेध चेतना अभियानका संयोजक बिकेश श्रेष्ठले न्यूज टिमलाई बताउनु भएको छ ।
यही असोज २४ गते आइतवार हुने भनिएको सो गोष्ठीमा अनन्त ज्योति ध्यान केन्द्रका तर्फबाट मांशाहारका लागि पालन गरिएका जनावरहरूको कारणबाट जलवायु परिवर्तनमा ठूलो भूमिका खेलेको विषयमा खोजमूलक महत्त्वपूर्ण डकुमेन्ट्रिको प्रस्तुति पनि रहने सो ध्यान केन्द्रका महासचिव विष्णुप्रसाद न्यौपानेले बताउनु भएको छ ।
विचार गोष्ठीमा अहिंसावादी, धार्मिक एवम् आध्यात्मिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहने बताइएको छ । गोष्ठीमा धर्मको नाममा नेपाली समाजमा हुँदै आएको पशुपँक्षिको बलि दिने प्रथा कति जायज तथा कति नाजायज छ भन्ने विषयमा घनिभूत छलफल हुने बुझिएको छ । दशैं पर्वलाई पशुपँक्षिको बलि चढाइने चाडको रूपमा पनि बुझिने गरेको परिपेक्षमा दशैंको मौका पारेरै गरिन लागेको सो गोष्ठी समसामयिक एवम् सान्दर्भिक रहेको मान्नसकिन्छ । आयोजकहरूले यस विषयमा जिज्ञाशा भएका आमसर्वसाधारणलाई गोष्ठीमा सहभागि भएर आफ्नो जिज्ञाशा राखिदिनलाई समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया