सरकार गठनमा सघाउन राप्रपालाई एमालेको प्रस्ताव

इनेप्लिज २०७२ असोज २१ गते १४:१९ मा प्रकाशित

काठमाडौँ, २१ असोज । नेकपा (एमाले)ले नयाँ सरकारको नेतृत्वका लागि आफ्नो पार्टीलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई आज आग्रह गरेको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीले आज साँझ राप्रपा नेपाल केन्द्रीय कार्यालय धूमबाराहीमा पुगेर सो पार्टीका अध्यक्ष कमल थापा र अन्य पदाधिकारीसँग भेट गरी सहयोगका लागि आग्रह गरेको हो ।

एमालेको प्रस्तावमा अध्यक्ष थापाले आफ्नो पार्टी सकारात्मक रहेको र नयाँ सरकारको नेतृत्वका लागि अध्यक्ष ओलीलाई शुभकामना दिँदै केन्द्रीय कार्यसमितिको बैठकले चाँडो निर्णय लिने प्रतिबद्धता व्यक्त गर्नुभएको केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताउनुभयो ।

उक्त भेटमा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष विद्यादेवी भण्डारी र सचिव प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।

राप्रपा नेपालका अध्यक्षसहितका पदाधिकारी सो भेटमा सहभागी हुनुहुन्थ्यो । राप्रपाका तर्फबाट अध्यक्ष थापा, उपाध्यक्ष टङ्क ढकाल, धवलशम्शेर राणा हुनुहुन्थ्यो ।

यसैबीच पार्टीको केन्द्रीय कार्यसमितिको पूर्ण बैठक शुक्रबार बस्ने भएको छ । बिहान ९ बजे बस्ने सो बैठकले अब बन्ने नयाँ सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारेमा सैद्धान्तिक टुङ्गो लगाउने, मुलुकको पछिल्लो राजनीतिक गतिविधि तथा समसामयिक विषयमा छलफल गर्नेछ ।

संविधान जारी भएपछि अब पार्टीले अपनाउनुपर्ने रणनीति तथा नाकाबन्दीले जनजीवनमा पारेको प्रभावका बारेमा मूल्याङ्कन तथा छलफल गरिने पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया