तरकारी पकाउँदा तेलबाट उठेको आगोले …

इनेप्लिज २०७२ असोज २१ गते १०:४३ मा प्रकाशित

aaglagi1खोटाङ, २१ असोज । केटाकेटीले तरकारी पकाउने क्रममा उठेको आगोले खोटाङमा एक घर जलेर नष्ट भएको छ ।

तरकारी पकाउन कराहीमा तताइएको तेलबाट आगो उठ्दा बाहुनीडाँडा–१ का अम्बरबहादुर अधिकारीको घर जलेर नष्ट भएको हो ।

बुधबार राति कराहीको तेलबाट उठेको आगो अगेँनामाथि भारका रुपमा राखिएको जस्ता, त्यसमाथि राखिएको मकै हुँदै फैलिएर घर जलेको स्थानीयवासी पुष्पराज राईले जानकारी दिनुभयो ।

अधिकारीको घर तथा घरभित्र राखिएका मालमत्ता, भाँडाकुँडा, अन्नपात, लत्ताकपडा, नागरिकता लगायतका सबै सामग्री जल्दा तीन लाख ४५ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । घर तथा घरमा भएका सबै जलेर नष्ट भएपछि पीडित परिवारलाई वर्षे कटेरामा राख्ने तयारी गरिएको स्थानीयवासीले जनाएका छन् । अग्निपीडित अधिकारीका सातजनाको परिवार रहेका छन् ।

प्रतिक्रिया