सहकारीको दुई करोडभन्दा बढी कारोबार

इनेप्लिज २०७२ असोज २१ गते २:५६ मा प्रकाशित

बाँके (खजुरा), २१ असोज । महिला तथा बालबालिका कार्यालय बाँकेअन्तर्गत महिला समूहले सञ्चालन गरेका सहकारीको कारोबार रु दुई करोड ५० लाख पुगेको छ ।

जिल्लाका २६ गाविस र नेपालगन्ज उपमहानगरपालिकामा गरी अहिले जिल्लामा २९ वटा महिला तथा बालबालिका कार्यालयअन्तर्गतका सहकारी रहेको कार्यालय प्रमुख प्रभा श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती सहकारीमा करिब ८०० सदस्य रहेका छन् । महिला समूहले मासिक रु १० देखि रु एक हजारसम्म बचत गर्ने गरेका छन् ।

सहकारीले महिला समूहमा सस्तो ब्याजमा ऋण लगानी गर्नुका साथै आयआर्जन तथा सीपमूलक तालिम गर्दै आएका छन् ।

सो कार्यालयले लैङ्गिक हिंसा न्यूनीकरणका लागि बाँकेमा निगरानी समूह गठन गर्ने प्रक्रियालाई पनि तीव्रता दिएको छ । अहिलेसम्म नौ गाविसमा नौवटा, नेपालगन्ज उपमहानगरपालिकामा पाँचवटा र कोहलपुर नगरपालिकामा दुईवटा निगरानी समूह गठन गरिसकेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया