बन्दका कारण यातायात मजदुरको बिचल्ली

इनेप्लिज २०७२ असोज २१ गते २:५५ मा प्रकाशित

पथरी (मोरङ), २१ असोज । तराई केन्द्रित दलहरुको झन्डै दुई महिनादेखिको लगातारको बन्दका कारण विराटनगर–इटहरी सडकखण्डमा चल्ने गाडीका मजदुर यतिबेला बिचल्लीमा परेका छन् ।

सवारी चलेअनुसार दैनिक ज्याला तथा भत्तामात्र पाउने मजदुरहरु सवारी नचल्दा हात–मुख जोर्नसमेत समस्यामा पर्न थालेको विराटनगर–२ का यातायात मजदुर अर्जुन काफ्लेले गुनासो गर्नुभयो ।

झन्डै दुई महिनादेखिको लगातारको विराटनगर बन्द र इन्धन आपूर्ति सहज नभएका कारण यातायात साधन चल्न नसक्दा यातायात मजदुरले दैनिक रोजीरोटी गुमेको गुनासो गर्न थालेका छन् । अरुबेला दिनको लगभग रु ६०० कमाइ हुने बताउँदै काफ्लेले भन्नुभयो – “झन्डै दुई महिना हुन लाग्यो कमाइविहीन छु ।”

बन्दका कारण लामो समय सवारी चलाउन नपाएका र चलेका ठाउँमा पनि इन्धन अभावले बन्द गर्नुपर्ने हुँदा भोकभोकै बस्ने अवस्था आउन लागेको विराटनगरका अर्का मजदुर खेमराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो – “बन्दले गर्नुग¥यो, दुई छाक खानसम्म समस्या हुन थालेको छ । ”

स्वतन्त्र यातायात मजदुर सम्बद्ध सङ्गठन कोसी अञ्चलका इन्चार्ज किशोर धमलाका अनुसार सरकारले तोकेको कोटाअनुसार इन्धन पनि नपाएको र इन्धन अभावका कारण दैनिक सञ्चालन हुने सवारी चल्न नसक्दा मजदुर मारमा परेका छन् । उहाँले भन्नुभयो – “दसैँ आइसक्यो, यो बेला गाडी मजदुरको अरु बेलाभन्दा बढी कमाइ हुने समय भए पनि चहलपहल शून्य छ ।”

प्रतिक्रिया