पेट्रोलियम पदार्थको अभावले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता

इनेप्लिज २०७२ असोज २० गते ४:३३ मा प्रकाशित

roofमेलम्ची, २० असोज । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएपछि सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बढेको छ ।

थोरै चलेका सवारीसाधनमा झुन्डिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको मेलम्ची नगरपालिकाका युवा सुमन दुलालले बताउनुभयो । पेट्रोलियम पदार्थ पाउन छाडेपछि सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे, चौतारा, मेलम्चीका सर्वसाधारणले निकै कष्ट भोग्नु परेका छन् ।

पेट्रोलियम पदार्थ अभावले भएका मोटरसाइकल पनि थन्किएपछि सार्वजनिक सवारीमा ज्यान जोखिममा राखी लामो दूरीको यात्रा झुन्डिएरै गर्नुपरेको र घन्टौँ कुर्दा पनि बस नपाइने, पाए पनि उभिने ठाउँसमेत नहुँदा ढोकामै उभिएर काठमाडाँसम्मको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणको गुनासो छ । बसभित्र खोँचाखोँच यात्रु हुन्छन् कतिपय त निस्सासिएर बेहोससमेत हुने गर्छन् ।

तालामाराङका क्षितिज देउजाले भने बसको छत वा ढोकामा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपरेको अवस्था छ । विद्यालय टाढा भएकाले बसले समेत विद्यार्थीलाई रोक्दैन, हिँडेर जाँदा विद्यालय समयमा पुग्न नसकिने विद्यार्थीले गुनासो पोखे ।

सीमित रुपमा चलेका सवारीसाधनका कारण क्षमताभन्दा बढी यात्रुलाई राखी सञ्चालन हुने गरेका छन् । पेट्रोल अभावले सर्वसाधारणको दैनिकी नै कष्टकर बन्दै गएको यात्रुको गुनासो छ । क्षमताभन्दा बढी यात्रु राखी सवारीसाधन नचलाउन इलाका प्रहरी कार्यालय मेलम्चीले आग्रह गरेको भए पनि यात्रुको समस्या र सीमित सवारीसाधनको कारणले सर्वसाधारणलाई जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया