जीवित देवी कुमारीको पूजा सम्पन्न

इनेप्लिज २०७२ असोज २० गते ३:०० मा प्रकाशित

साँखु (काठमाडौँ), २० असोज । साँखुमा परम्परादेखि चल्दै आएको जीवित देवी कुमारीको पूजा मङ्गलबार राति सम्पन्न भएको छ ।

दसैँको महानवमीको ठीक दुई हप्ता अगाडिको नवमीका दिन गरिने उक्त पूजामा कुमारी, जेठी कुमारी, भैरव र गणेशको सहभागिता रहन्छ । यसपछि महानवमीको दिन पुनः लस्क फल्चामा जीवित देवी कुमारीको पूजा हुने गर्दछ । त्यतिबेला भने कुमारी माजु एक्लैलाई मात्र पूजा गर्ने गरिन्छ । यी सबै देवीदेवता बज्राचार्य परिवारका हुने गर्दछन् । यदि बज्राचार्य परिवारमा योग्य कुमारी नपाइएमा भने उनीहरुका परिवारका छोरीतर्फका नातिनाहरुको समेत सहभागिता सो पूजामा हुने गर्दछ । यी दुईवटै पूजा राति हुने गर्दछन् । यो पूजाका लागि साँखुको तलेजु मन्दिरबाट पूजा ल्याउने र पूजा सकिएपछि तलेजु मन्दिरमै पुगी समापन गर्ने गरिन्छ ।

जीवित देवी कुमारीलाई साल्खाको ग्वरल्ह्वंबाट पूजारी वर्ग जोशी, पण्डित, किसी, मल्ता लगायतका गुठियारले बोकेर कुमारी मण्डपमा लगिन्छ त्यहाँबाट पूजा सकिएपछि कुमारी माजुलाई बोकेरै कुमारी गाल (छ्वासः) सम्म गुठियार ले नै बोकेर लैजान्छन् त्यसपछि मात्रै कुमारी हुने व्यक्तिका आमा बुबाले लिन्छन् ।
स्थानीय इतिहासविद् प्रकाशमान सक्वका अनुसार यो पूजा परापूर्वकालदेखि नै भइरहेको हो र यो पूजा गरिसकेपछि दसैँको आगमन भएको मानिन्छ । साँखुमा आठवटा शक्ति पीठ छन् त्यसमध्ये चलाखुको महालक्ष्मीस्थानमा कुमारी पाठी बलि दिएर पूजा गरिने यो पूजाको विशेष महत्व रहेको छ ।

प्रतिक्रिया