करुणा फाउन्डेसनद्वारा २५ लाख सहयोग दिने घोषणा

इनेप्लिज २०७२ असोज २० गते २:०३ मा प्रकाशित

इलाम, २० असोज । करुणा फाउन्डेसन इलामले भूकम्पबाट क्षतिग्रस्त दुईवटा स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग दिने घोषणा गरेको छ ।

एक वर्षदेखि जिल्लाका एक दर्जन गाविसमा अपाङ्गता पुनः स्थापनामा काम गर्दै आएको फाउन्डेसनले माईपोखरी र श्रीअन्तु स्वास्थ्य चौकीको भवन निर्माणका लागि रु २५ लाख आर्थिक सहयोगको घोषणा गरेको फाउन्डेसनका प्रमुख अजित योञ्जनले बताउनुभयो ।

गत वैशाख १२ र २९ गते गएको भूकम्पबाट जिल्लाका १३ स्वास्थ्य संस्था क्षतिग्रस्त बनेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये श्रीअन्तु र माईपोखरीको स्वास्थ्य चौकी पूर्णरुपमा क्षतिग्रस्त बनेपछि स्वास्थ्य सेवा नै प्रभावित बनेको थियो ।

करुणा फाउन्डेसन, जिल्ला विकास समिति र जिल्ला स्वास्थ्य कार्यालयबीच ती दुई स्वास्थ्य चौकी निर्माणका लागि फाउन्डेसनले प्रति चौकी रु १२ लाख, ५० हजार, जिविसले १०÷१० बन्डल जस्तापाता र जिल्ला स्वास्थ्य कार्यालयले रु एक लाख, गाविसले रु एक लाख ५० हजार र अपुग रकम स्थानीय स्रोत र श्रमदानबाट निर्माण गर्ने गरी सम्झौता भएको जानकारी जिल्ला स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले दिनुभयो ।

एउटा स्वास्थ्य चौकी निर्माणका लागि रु १८ लाख लाग्ने अनुमान गरिएको छ । भूकम्पले क्षतिग्रस्त बनाएका अन्य स्वास्थ्य चौकी मर्मतसम्भारका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा बजेट माग गरिएको प्रमुख पोखरेलले बताउनुभयो । भूकम्पले क्षतिग्रस्त बनाएका स्वास्थ्य संस्थाले अहिले घर भाडामा लिएर सेवा प्रदान गरिरहेका छन् ।

प्रतिक्रिया