नदीजन्य वस्तुको अवैध दोहन

इनेप्लिज २०७२ असोज १९ गते २:४६ मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १९ असोज । बेनी नगरपालिका क्षेत्रमा नदीजन्य वस्तुको अवैध रुपमा दोहन भइरहेको छ ।

जिल्ला विकास समितिसँग सम्झौता नगरी नगरपालिकाभित्र पर्ने म्याग्दी र कालीगण्डकीको बगरबाट ढुङ्गा, बालुवा र गिट्टी उत्खनन भएको हो । गत साउनदेखि यता जिविसले चारपटक सूचना प्रकाशन गरेर ठेक्का प्रस्ताव आह्वान गरे पनि सम्झौता हुन सकेको छैन ।

प्राकृतिक स्रोतमाथि ठेकेदारहरुले मिलेमतो गरेर निश्चित व्यक्तिहरुको मात्र पहुँच होस्, व्यक्तिगत स्वार्थपूर्ति गरी जिल्लाको आन्तरिक स्रोतलाई हानी पु¥याउने नियतले प्रतिस्पर्धा हुन नदिएको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो ।

सुरुमा रु २८ लाख न्यूनतम मूल्य राखेर बढी बढाउमा ठेक्का प्रस्ताव मागिएकामा पछिल्लो पटक रु २२ लाखमा प्रस्ताव परे पनि सम्झौता हुन सकेन । एकवटा मात्र प्रस्ताव परे पनि ठेकेदार सम्झौता गर्न नआएपछि रु १८ लाखमा अर्को सूचना प्रकाशन भएको छ ।

अघिल्लो वर्ष पनि सातपटक सूचना प्रकाशन गर्दासमेत बगर उत्खनन गर्न प्रस्ताव नपरेपछि अन्तमा रु १८ लाखमा ठेक्का सम्झौता भएको थियो । मुख्य आन्तरिक स्रोत मानिएको बगरमा ठेक्का लगाउने क्रममा प्रतिस्पर्धा हुन नपाएपछि जिविसको आयस्रोत प्रभावित बनेको छ ।

नदी बगरमा ठेक्का नलागे पनि अवैध रुपमा उत्खनन गर्ने क्रम भने रोकिएको छैन । बेनी गलेश्वर सडक छेउछाउ र बगुवाखोलाको बालजागृति प्रावि नजिकैको बगरबाट ठेक्का नलाग्दै ढुङ्गा, गिट्टी र बालुवा निकालिरहेको छ । नगरपालिका क्षेत्रभन्दा बाहिर पर्ने म्याग्दी र कालीगण्डकी बगर उत्खनन गर्नका लागि भने ठेक्का लागिसकेको जिविसले जनाएको छ ।

नदीजन्य पदार्थको चोरी निकासी बढेपछि प्रहरीको सहयोगमा निगरानी गरी कारबाही गर्न थालिएको छ । बालुवा, ढुङ्गा र गिट्टी चोरीमा प्रयोग भएका ट्र्याक्टर नियन्त्रणमा लिएर जरिवानासमेत तिराएको स्थानीय विकास अधिकारी पौडेलले बताउनुभयो ।

प्रतिक्रिया