रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक कर्मचारी पक्राउ

इनेप्लिज २०७२ असोज १७ गते १३:३८ मा प्रकाशित

pakraauकाठमाडौँ, १७ असोज । फर्जी लगानी गरेको देखाई रकम हिनामिना गर्ने मुक्तिनाथ विकास बैंक लिमिटेड लघु वित्त डेस्क कार्यालय दुलेगौडा, तनहुँका तत्कालीन कामु सहायक अधिकृत असराज खनाललाई प्रहरीले पक्राउ गरेको छ ।

खनालसहितका व्यक्तिले रु ३६ लाख ५४ हजार ५१७ कीर्ते रुपमा फर्जी लगानी गरेको देखाई रकम निकासा गरी लिई फरार रहेकामा सर्लाही जिल्ला जानकीनगर घर भएका खनाललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

सो घटनापछि बैंकमा निलम्बनमा परी फरार रहेका खनाललाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकामा लुकिछिपी बसिरहेको अवस्थामा महाशाखाको टोलीले शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि खनाललाई इलाका प्रहरी कार्यालय, बेलचौतारा, तनहुँ पठाइएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया