विकट जिल्लाका बालबालिकालाई रुपन्देहीमा संरक्षण

इनेप्लिज २०७२ असोज १६ गते ४:१६ मा प्रकाशित

तिलोत्तमा (रुपन्देही), १६ असोज । विकट पहाडी जिल्लाका बालबालिकालाई तराईका बाल संरक्षण गृहमा सुरक्षितरुपमा राखेका छन् ।

विकट पहाडी जिल्लामा द्वन्द्वको चपेटामा परेका बालबालिकालाई तराईको सुगम जिल्लामा मानिने रुपन्देहीको सैनामैना–१ वनकट्टामा रहेको आश्रमले पालनपोषण तथा शिक्षाको व्यवस्था मिलाएको छ ।

विकट मानिने कर्णाली अञ्चल खासगरी द्वन्द्वको चपेटामा परेका बालबालिकालाई उक्त आश्रममा राख्ने व्यवस्था गरिएको छ । मुगु जिल्लामा सानै उमेरमा बाबुआमा गुमाएका जयप्रकाश थापाले कहिल्यै तराई देखेको थिएन् । द्वन्द्वको कारण बेसाहारा भएका जयप्रकाशलाई तराईको ठूलठूला घर देख्दा पहिलो पटक अचम्म लागेको थियो । तराई कस्तो होला, के होला भनेर कल्पना गर्ने उनी अहिले यहि तराईमा हुर्केको छ ।
तर आफन्तको सहयोगमा जिल्ला बाल कल्याण समितिबाट उहाँ अहिले रुपन्देहीको सैनामैना–१ वनकट्टामा रहेको अभियान नेपाल बाल आश्रममा आश्रित रहेको छ । आफ्ना आमाबुबा गुमाएका मुगुका नौ जना र एक पाल्पाका बालबालिकाले अहिले उक्त आश्रममा आमाबुबाको जस्तै माया र साथ पाइरहेका छन् । नजिकै रहेको दुर्गा भवानी उच्च माविमा पढ्दै आएका यी सबै बालबालिकाको आश्रम नै घर लाग्ने गरेको उनीहरु बताउँछन् ।

आश्रमका संस्थापक संरक्षक तिलक साहीका अनुसार बेवारिसे अवस्थामा रहेको जग्गा लिएर करिब छ वर्ष पहिला स्थानीय महिला, आमा समूह, क्लब तथा सङ्घसंस्थाको अगुवाइमा चार वटा सानो भवन निर्माण गरिएको हो ।

कर्णाली अञ्चलका विद्यार्थीलाई सरकारले पनि प्राथमिकतामा राखेको कारण नौ जना मुगुका विद्यार्थी राखेको जानकारी दिनुभयो । कक्षा २ देखि ४ कक्षासम्म पढ्ने विद्यार्थी अहिले आश्रममा रहेको संरक्षक साहीले जानकारी दिनुभयो भने एक जना प्लस टु पढ्ने विद्यार्थी पनि रहेका छन् । उहाँ भन्नुहुन्छ “सरकारी निकायबाट आश्रम सञ्चालन गर्न अनुमतिबाहेक अन्य कुनै सहयोग गरेको छैन ।” दुई पटक एक गैरसरकारी संस्थाले वर्षमा रु ४० हजार पोसाक र स्टेसनरीका लागि भन्दै सहयोग गरेको र अहिले सहयोग नगरेको उहाँले बताउनुभयो ।

कहिलेकाहीँ पर्रोहा परमेश्वर बोलबाम धामबाट चामललगायतका खाद्यान्न, कहिले स्थानीय क्लबले देउसीभैलो खेलेर सहयोग गर्ने गरेका छन् । रु १० हजारभन्दा बढी सहयोग गर्ने १० संस्था र व्यक्ति रहेका छन् । उक्त आश्रमलाई पहिलो पटक विद्यालय स्तरबाट सहयोग गर्ने विद्यालय बुटवलको दीप बोर्डिङ रहेको छ । कक्षा ८ मा अध्ययनरत विद्यार्थीले खाजा खर्च कटाएर उक्त सहयोग गरेका थिए ।

अध्यक्ष साहीका अनुसार द्वन्द्वपीडित बालबालिकालाई विभिन्न सङ्घसंस्थाले गरेको सहयोग र सद्भावबाट भएको सहयोगले बालबालिकालाई थप अगाडि बढ्ने हौसला बढाएको छ ।
अहिलेसम्म स्थानीय गाउँले, आमा समूह र क्लबबाट भएको सहयोगबाट सञ्चालन हुँदै आएको उक्त आश्रमका बालबालिकालाई थप सहयोगको खाँचो रहेको आश्रम सञ्चालक समितिले जनाएको छ ।

प्रतिक्रिया