जिविसद्वारा तीन करोड ६२ लाख बजेट बाँडफाँट

इनेप्लिज २०७२ असोज १६ गते ४:१० मा प्रकाशित

Myagdi_district_locationबाबियाचौर (म्याग्दी), १६ असोज । जिल्ला विकास समिति म्याग्दीले चालु आर्थिक वर्षमा सञ्चालन हुने विभिन्न योजनाका लागि रु तीन करोड ६२ लाख बजेट बाँडफाँड गरेको छ ।

जिविसमा शुक्रबार पत्रकार सम्मेलन गरी जिविस पुँजीगत अनुदान, ग्रामीण खानेपानी, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम र कृषि सडक मर्मतका लागि रु तीन करोड ६२ लाख ६१ हजार बाँडफाँड गरिएको जानकारी गराइयो ।

जिल्ला परिषद्ले निर्णय गरेका योजना तथा कार्यक्रमलाई राजनीतिक दलसँग समन्वय गरी बजेट बाडँफाँड गरेको स्थानीय विकास अधिकारी चिरञ्जीवी पौडेलले बताउनुभयो । जिविस पुँजीगत अनुदान शीर्षकको रु ९३ लाख विशेष लक्षित कार्यक्रमसहित २३ वटा योजना तथा कार्यक्रमलाई बाँडफाँड गरिएको छ ।

सबैभन्दा बढी यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रम शीर्षकमा प्राप्त भएको रु दुई करोड ६१ लाख २१ वटा सडक योजनालाई बाडँफाँड भएको छ । यस वर्ष मुनामा सडक पु¥याउने लक्ष्य राखेको जिविसले सो शीर्षकको अन्य बजेट पुराना सडकको मर्मत र नयाँ ट्याक खोल्न छुट्याएको छ ।

ज्ञानप्रकाश उच्च मावि दाना, भगवतीको साझापानी र मुनामा ढल निर्माण गर्न तथा सरसफाइ सामग्री खरिद गर्न, चार वटा खानेपानी योजना सर्वेक्षण र सम्पन्न खानेपानी योजनाको मर्मत सम्भारका लागि रु ५० लाख छुट्याएको स्थानीय विकास अधिकारी पौडेलले जानकारी दिनुभयो ।

विभिन्न २० वटा ग्रामीण सडकको मर्मत गरी दसैँअघिनै सवारी सञ्चालनमा ल्याउन रु १९ लाख बाँडफाँड भएको छ । कात्तिकसम्म सडक मर्मत गर्न नसके बजेट फिर्ता गर्नेे निर्णय जिविसले गरेको छ ।

आर्थिक केन्द्र तथा दुई जिल्ला जोड्ने सडक कार्यक्रमअन्तर्गत दरवाङ बुर्तीवाङ शीर्षकको योजनालाई दरवाङ–फूलबारी–अदिभारा–डाँडागाउ–सोले र फूलबारी–ओखरबोट सोले सडकलाई फूलबारी–अदिभारा–ओखरबोट सडक नामकरण गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।

यसैगरी बिम मराङ मल्कवाङ पाखापानी सडक र पिप्ले मौवाफाट दग्नाम चिमखोला मङ्गले सडक निर्माणमा विष्फोटक पदार्थ प्रयोग गर्न टेण्डर आह्वान गर्ने भएको छ । यो आवलाई सरकारले बजेट कार्यान्वयन वर्ष घोषणा गरेकाले विगतको भन्दा छिटो खर्च गर्ने अख्तियारी आएको हो ।

लक्षित समुदायका लागि छुट्याएको बजेट रकामान्तर गर्न नपाउने र शौचालय नभएका घर पहिचान गरिने भएको छ । यसैगरी म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको सांस्कृतिक संरक्षणका लागि छन्त्याल सङ्ग्रहालयको भवन बनाउन रु चार लाख छुट्याएको स्थाविअ पौडेलले बताउनुभयो ।

प्रतिक्रिया