कापी कलमका लागि गिट्टी कुट्दै बालबालिका

इनेप्लिज २०७२ असोज १५ गते २:०४ मा प्रकाशित

gittiडडेल्धुरा, १५ असोज । गरिब परिवारका बालबालिकाका लागि सुदूरपश्चिमका राजमार्गहरु आर्थिक उपार्जनको माध्यम बनेका छन् ।

विद्यालय जाने उमेरका न्यून आयस्रोत भएका परिवारका बालबालिका कलम कापी किन्नका लागि राजमार्गका सडकमा गिट्टी कुट्ने गरेको पाइन्छ ।

आफ्ना आमा, हजुरआमा, दाजुभाइ, दिदीबहिनीसँगै गिट्टी कुटेर दैनिक रु ५० देखि रु १५० सम्म आम्दानी गरी कापी कलमको जोहो गर्न सडकको छेउछाउमा बालबालिका प्रायःजसो विद्यालय बिदाका दिन गिट्टी कुट्नमा व्यस्त देखिन्छन् ।

सुदूरपश्चिमका केआई सिंह राजमार्गको मष्ठमाण्डौ सकायल, गणेशपुर गाविस र अमरगढी नगरपालिकाको सिमाना रडुवा खोला, कैलपालमाण्डौ गाविसको कोराल क्षेत्र जस्तै राजमार्गमा बालबालिकाले बिदाका दिन गिट्टी कुटेर आम्दानी गर्ने र गिट्टीबाट आम्दानी भएको पैसाले कापी कलमलगायत लुगाफाटो पनि किन्ने गरेको र बाँकी रहेको पैसा अभिभावकले अन्यमा लगानी गर्ने गरेको बालबालिकाको भनाइ रहेको छ ।

छ÷सात वर्षदेखि १६÷१७ वर्षसम्मका अबोध तथा किशोरावस्थाका बालबालिकाका लागि बालअधिकार के हो थाहा छैन तर आफ्नो कापी किताब र कलमजस्ता आवश्यकताको परिपूर्ति आफैँ गर्नका लागि आमा वा दिदीबहिनीसँगै राजमार्गको छेउछाउमा वा खोलाको किनारमा गिट्टी कुट्न पुगेका हुन्छन् ।

बिनाकाममा बसेर खेलेर उपद्रो र चकचक बढी गर्ने भएकाले पनि केटाकेटीलाई आफूसँगै गिट्टी कुट्न ल्याउनुपर्ने अभिभावकको बाध्यता रहेको श्रमिक महिला बताउँछन् । घरमा भएका पुरुष जति काम गर्न भारततिर निस्कने भएकाले केटाकेटीको हेरचाहका लागि पनि काम गर्ने ठाउँमा ल्याउनुपर्ने बाध्यता रहेको रजमार्गमा काम गर्दै गरेका महिलाले पीडा सुनाए ।

विद्यालयमा बर्र्खे बिदा होस् वा हिउँदे बिदा राजमार्ग छेउछाउको बस्तीमा बसोबास गर्ने बालबालिकाले आफ्ना आमा र दिदीसँगं दैनिक रु १५० सम्म पनि आम्दानी गरी आफ्ना आमालाई आम्दानीका रुपमा दिने गरेको बताएका छन् ।

राजमार्ग आसपासका दर्जनाँै बालबालिका आम्दानीका लागि घरबाट सडकमा आमाबाबुले पठाउने गरेका छन् भने टाढाटाढाबाट पानी बोक्नेलगायत घरायसी अन्य कामकाज पनि गर्नुपर्ने बाध्यता रहिआएको समेत देख्न सकिन्छ ।

गरिबीका कारण प्रत्येक शनिबार दिनभरि र अरु दिन बिहान उठ्नेबित्तिकै विपन्न परिवारका यी बालबालिकाले पारिवारिक गुजाराका लागि मौसमअनुसार कहिले लालीगुराँसका फूल, कहिले काफल बेचेर त कहिले घरमा हुने फलफूल बेचेर अथवा गिट्टी कुटेर आम्दानी गर्नु सुदूरपश्चिमका गरिब दलित बालबालिकाका लागि दिनचर्या जस्तै बनेको छ ।

रोजगारीको अन्य सम्भावना नभएपछि पठनपाठनका लागि खर्चको जोहो गर्दै गरेका बालबालिकाले गिट्टी बिक्री गरी दैनिक उपभोग्य वस्तु खरिद गर्नेलगायत घरखर्चमा बालबालिकाले सहयोग पु¥याउँदै आएको न्यून आयस्तर भएका परिवारको दुःखेसो रहेको छ ।

कापी, किताब र कलम समात्नुपर्ने हातमा कहिले हमर समातेर गिट्टी कुट्नु त कहिले मौसमअनुसारका फलफूल टिपेर राजमार्गमा तराई पहाड गर्ने यात्रुलाई बेचेर दिनचर्या बिताउनु यी परिवारका बालबालिकाको दैनिकी नै बनेको छ ।

बालबालिकाको क्षेत्रमा काम गर्ने धेरै सरकारी र गैरसरकार संस्था भए तापनि न्यून आयस्तर भएका र राजमार्गको छेउछाउमा काम गर्ने बालबालिकाको हकअधिकारका लागि आवाज उठाउने कोही कार्यालय नभएको उनीहरुको गुनासो रहेको छ ।

आफूहरुलाई पनि पढ्ने जोहो मिलेमा धेरै पढेर ठूलो मानिस बन्ने सपना रहेको सडकछेउमा काम गरिरहेका बालबालिकाको भनाइ रहेको छ ।

प्रतिक्रिया