पचासभन्दा बढी संस्थाको नेतृत्व गर्दै भट्टले भारतीय दूताबासमा बिरोधपत्र बुझाउने

इनेप्लिज २०७२ असोज १३ गते १४:१० मा प्रकाशित

Bhawan-Bhatta2

नेपालमा नयाँ संविधान जारी भएपछि असन्तुष्ट रहेको भारतले नेपालको राष्ट्रिय स्वतन्त्रतामाथि हस्तक्षेप गर्दै अघोषित नाकाबन्दी गरेपछि त्यसको बिरोधमा नेपालभित्र र बाहिर बिरोध प्रदर्शन भैरहेको छ ।

यस्तैमा बिभिन्न पेशा र व्यबसाय गर्दै जापानमा रहेका नेपालीहरुले एनआरएनए आईसीसी उपाध्यक्ष भवन भट्टको नेतृत्वमा टोकियोस्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाउने भएका छन् ।

जापानस्थित ५० भन्दा बढि संस्थाहरुका तर्फबाट संयोजक भवन भट्टले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपालमा संविधान जारी भएसँगै तराइ मधेश क्षेत्रमा भएको आन्दोलन र त्यसैलाई कारण नेपालतर्फको निकासीमा गरेको अवरोधप्रति गैरआवासीय नेपालीको ध्यानाकर्षण भएकोले राजदूतमार्फत ज्ञापनपत्र बुझाउन लागिएको जनाइएको छ ।

भारतले अन्तर्राष्ट्रिय मान्यता र कानुन विपरीत नेपालमा निकासी बन्द गर्दा गहिरिंदै गएको पेट्रोलियम संकटप्रति कोही अनभिज्ञ नरहेको र चाँडै नै खाद्यान्न, औषधीलगायतका अत्यावश्यकीय बस्तुको अभाव हुने र यसले स्थिति थप विकराल हुने जोखिमप्रति अहिले नै सचेत हुनु जरुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेपालले ८ वर्षको मेहनतपछि आफ्नै जनप्रतिनिधिद्वारा संविधान लेखेको छ। गत अप्रिलमा गएको महाविनासकारी भूकम्पपछि संविधानसभाद्वारा संविधान जारी गरिएको स्थितिमा नेपालको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ तर यहिबेला दक्षिणी सिमामा भएको आन्दोलनले ठूलो आर्थिक क्षती पुगेको छ । संकटको यस घडिमा मित्रराष्ट्र भारतको सकारात्मक सहयोग अपेक्षित रहेको उल्लेख छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा संविधान जारी भएपछि उत्पन्न अवस्था निकै नै गम्भिर छ र यो समस्याको तत्काल सामाधान गरि अन्तर्राष्ट्रिय कानुन, क्षेत्रिय तथा द्विपक्षिय सन्धि सम्झौता एवम् दुई देशबीचको सम्बन्धको सम्मान गर्न आग्रह गरिएको छ ।

तराइ मधेशका मागहरु संविधान संशोधन मार्फत सम्बोधन गर्न सकिने मार्ग सँधै खुल्ला छ । संविधानसभामा रहेका सदस्यहरुको झण्डै ९० प्रतिशतले पारित गरेको यो संविधानलाई विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भएकाले मात्र हैन नेपालका हरेक सुख दुःखको साक्षी र सहयोगीसमेत भएकाले छिमेकी भारतले यसको निसर्त समर्थन गर्ने अपेक्षा गर्दै भूपरिबेष्ठित राष्ट्रका आफ्नै बिशिष्ठ अधिकारहरु रहेको र प्रत्येक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने ज्ञापन पत्रमा स्मरण गराइएको छ ।

झण्डै ४५ हजारको संख्यामा रहेका नेपाली तथा तिनको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ जापान, जापानस्थित नेपाली जनसम्पर्क समिति, प्रबासि नेपालि संगठन, नेपाल जन प्रगतिशिल मोर्चा, नेपाल जनजाती महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली व्यवसायी संगठन, नेपाली विद्यार्थी संघ लगायत ५० भन्दा बढि संस्थाहरुका तर्फबाट ज्ञापनपत्र बुझाउन लागिएको हो ।

यस अभियानका संयोजक तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहेका प्रतिष्ठित व्यवसायी भवन भट्टले भारतजस्तो ठूलो प्रजातान्त्रिक मुलुकले सार्कका सबै राष्ट्रहरुमा क्षेत्रिय शान्ति तथा सुव्यवस्था कायम गर्दै समेटेर लैजानुपर्ने बताउँदै वर्तमानमा भइरहेको घटनाप्रति दुःख व्यक्त गर्दै बिश्वको ७० भन्दा बढि राष्ट्रमा रहेका नेपालिहरुलाई सम्बन्धित देशमा रहेका भारतिय दूताबास तथा अन्य नियोगहरुमा १ अक्टुबरका दिन उपस्थित भई ज्ञापनपत्र बुझाउन आह्वान गर्नुभएको छ ।

बुझाइने ज्ञापनपत्रको बोधार्थ जापानका प्रधानमन्त्री, जापानस्थित संयुक्त राष्ट्रसंघको कार्यालय, सार्कराष्ट्रका सबै दूताबासहरु लगायतमा दिइने जानकारी गराइएको छ ।

प्रतिक्रिया