कृति परिचयः भूकम्पपछिको काठमाडौँलाई प्रकाशमय उपहार

इनेप्लिज २०७२ असोज १० गते ४:११ मा प्रकाशित

Rss_Images_1443325005592_SR_KTM_Kathamanu selfi Cover pageकाठमाडौँ, १० असोज । नेपालका थुप्रै दिवङ्गत र जीवित साहित्यकार, गीतकार, सङ्गीतकार, गायक, चलचित्रकर्मी, पत्रकार आदिका बारेमा निकै जानकार प्रकाश सायमीको ‘काठमाडौँ सेल्फी’ (सिर्जनात्मक गद्य) ‘गोरखा भूकम्प’पछिको पीडामा मल्हम थप्न आएको छ ।

शब्दहार क्र्रियसन्सद्वारा प्रकाशित कृतिमा बिपी कोइराला, शङ्कर लामिछाने, धुस्वाँ सायमी, भूपी शेरचन, वासु शशी, जनकबहादुर राणा, मित्रसेन थापा मगर, अम्बर गुरुङ, अरुणा लामा, गोपाल योञ्जन, नारायणगोपाल गुरुवाचार्य, दिव्य खालिङ जस्ता नेपाली र नेपालीभाषी तथा गालिब,सत्यजित रे, गुल्जार, रजनीश, आरके लक्ष्मण, शवाना आजमी आदिसँग सम्बन्धित ४३ रचना छन् ।
सम्पादकलाई चिठ्ठी लेख्ने नन्दनहरि ओखलढुङ्गे, रेडियो नेपालमामा बढी गीत फर्मायस गर्ने ताजमा–करिम हवारी, नाट्यकर्मी सपना प्रधान(महिले मानवअधिकारकर्मी), गायक रुपनारायण, अभिनेता प्रकाश अधिकारी, अभिनेत्री सूर्यमाला–चन्द्रमाला शर्मा, निर्देशक मनहरि भण्डारीको नाम हराएकामा चिन्ता गर्दै लेखकहरुसँग लेख रचना माग्न ताकेता गर्ने सम्पादक भैरव अर्याल, बादेपा, युवराज घिमिरे आदिलाई ‘लिभिङ इन्साइक्लोपेडिया’ लेखक सायमीले सम्झेका छन् ।
रेडियोमा ‘अजम्मरी गीत–सङ्गीत’, ‘अजर अमर गीतहरु’ कार्यक्रम सञ्चालन गर्ने सायमी प्रथम नेपाली गायक सेतुराम श्रेष्ठ तथा प्रथम गायिका मेलवादेवीदेखि उस्ताद बद्री र उस्ताद साइँलासम्मका कथा भन्न सक्छन् र ‘नेपाली सुगम सङ्गीतको स्वर्णिम युग’(२०१३)का प्रत्येक पाना कण्ठस्थ पार्न सक्छन् । त्यही वाग्प्रसाद लिएर उनी रेडियो नेपालका प्रथम गीतकार शङ्कर लामिछानेदेखि लिएर क्षेत्रप्रताप अधिकारी, नीर शाह, ईश्वरबल्लभ आदि गीतकारको जीवनी अक्षरशः भन्न सक्ने क्षमता राख्छन् । तीस वर्षकै उमेरमा बितेका दार्जिलिङका गीतकार–सङ्गीतकार शरण प्रधान र अरुणा लामाको दाम्पत्य जीवनको कारुणिक कथा, नेपाली नागरिकताविहीन दिव्य खालिङका अन्तिम मार्मिक दिनहरु र उदितनारायण झाको विरोधभासी जिन्दगी पनि प्रस्तुत कृतिमा पढ्न सकिन्छ । चर्चित स्रष्टाहरुको अन्तरङ्ग जीवनका विविध पक्ष र तिनले एकापसमा बोलेका संवादसमेतले उनमा विषयको गहिरो ज्ञान रहेको थाहा पाउन सकिन्छ ।
नेपाल र भारतको संयुक्त लगानीमा बनेको तर प्रदर्शनमा नआई अवसान भएको ‘पञ्चवटी’चलचित्र तथा दुर्गालाल श्रेष्ठ र मल्ल के सुन्दर सम्मिलित ‘नेवारभाषा’मा बन्न लागेको चलचित्रको तुहावट, ‘कञ्चनजङ्घा’चलचित्रमा गोपाल योञ्जनको बाँसुरी वाद्यवादनको प्रयोग गरिए पनि त्यसलाई श्रेय नदिइएको रहस्य ‘पृथ्वी’, ‘सिमाना’, ‘अवतार’, ‘जमिन’,‘रानीखोला’ र ‘हतियार’चलचित्रका निर्देशक सायमीले मात्र भन्न सक्छन् ।
रोचक कुरो, कवि सायमीले विश्वकै महँगो कलममा नाम आउने ‘मो ब्लाँ’ कलम धुस्वाँ सायमीबाट पाएका रहेछन् जसलाई तत्कालीन विद्रोही नेता पुष्पकमल दाहालले विसं २०६३ मङ्सिर ७ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग ‘शान्ति सम्झौता’मा हस्ताक्षर गर्दा प्रयोग गरेका थिए । नेपाली क्रिकेट खेलाडीले खेल्नुअघि राष्ट्रगान र गोपालप्रसाद रिमालको ‘रातो र चन्द्रसूर्य…’ पनि गाउँदा रहेछन् भन्ने प्रायः कमैलाई थाहा हुने तथ्य पनि यसमा परेको छ ।
मनको बोली नभएको आत्मकथा र खोल मात्र सुन्दर भएको पुस्तक, साहित्यमा हुने एकाधिकारवाद, बालबालिकामाथि हिंसा थोपर्ने आतङ्कवादीको पनि उनले कृतिमा जमेर व्यङ्ग्य गरेका छन् भने ओशो अर्थात् रजनीशलाई नेपालमा शरण नदिइएर पर्यटन प्रवद्र्धनको ठूलो मौका गुमाएको थकथकी पनि पोखेका छन् । यसमा विश्व साहित्य र चलचित्रका पनि निकै जानकारी पाउन सकिन्छ ।

आफूलाई पत्रकार, स्तम्भलेखक तथा सञ्चार प्रवद्र्धक, चलचित्र निर्देशक, साहित्यकार, नेपाली गीतसङ्गीत र रङ्गमञ्च र चलचित्रका अध्येता, नाट्यकर्मी सबैतिर बाँडेर पनि सबैभन्दा बढी गीतसङ्गीतमा पाएको विशेषज्ञताको प्रयोग यसमा छ । इतिहासका गर्तमा पुरिइसकेका थुप्रै तथ्यलाई उधिनेर नेपाली साहित्य, सङ्गीत, कला र पत्रकारितामा रुचि राख्नेलाई एउटा रोमाञ्चकता दिने कृतिको शीर्षकीकरणमा भने अनेपाली भाषाको गन्ध आउँछ । कृतिमा थुपैै्र भाँचभुँच गरिएका नेपाली र संस्कृत शब्दको प्रयोग गरिएको छ, जुन उनको मौलिक शैली भए पनि ती शब्दको उपयुक्तततामा सन्देह लाग्छ । नवीनीकरण, परिचयकृत, लिप्यन्तरण, अभ्याक्रमी, मञ्चस्थ, ध्वन्यस्त, प्राभ्यास, चर्चास्पद, प्रतीक्षणीय त्यस्ता केही उदाहरण हुन् । एकै शब्द पनि फरक फरक लेखिनु(जौहर–गौहर जान, मुरलीधर मिजार–मिझार, उस्ताद–वस्ताज ), कलकत्ता कोलकाता भइ सक्दा पनि कोलकत्ता र गोरेगावँलाई ओरेगावँ लेखिनुु, केही ठाउँमा स्त्रीलिङ्गी कर्तालाई पुलिङ्गी क्रियापद दिनु, ‘यु सेड इट’लाई ‘यु इट सेड’ लेखिनु, अङ्ग्रेजी, हिन्दी जस्ता अनेपाली शब्दको निकै प्रयोग गरिनु, गीतसङ्गीतका केही हस्तीको चर्चा गर्दा एकापसमा गाँसिएकाले धेरै तथ्य दोहरिरहनु, मुद्राराक्षस बग्रेल्ती पाइनु कृतिमा देखिने केही कमजोरी हुन् ।
विभिन्न शैलीमा नेपाली स्रष्टाहरुको जीवनी लेख्ने शङ्कर लामिछाने, उत्तम कुँवर, कृष्णप्रसाद पराजुली, गोपाल पराजुली, जयदेव भट्टराई, श्रीओम श्रेष्ठ रोदन, विजयराज आचार्य आदिभन्दा भिन्न शैलीको उनको लेखन र विषयको गहिराइले कृतिलाई गहन र ओजिलो बनाएको छ । अझ भूकम्पपछिको सांस्कृतिक सम्पदाको धमिलो आवरणपृष्ठले वैशाखको भूकम्प र काठमाडौँलाई सम्झना गराइदिएको छ । आउने संस्करणमा वर्णविन्यासलगायत दोषहरु हट्ने विश्वास लिन सकिन्छ ।

प्रतिक्रिया