भुटानी शरणार्थी समस्या मैत्रीपूर्ण तवरले समाधान गर्नुु दुवैका हितमा

इनेप्लिज २०७२ असोज १० गते ४:०२ मा प्रकाशित

न्यूयोर्क (अमेरिका), १० असोज । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभाका सिलसिलामा नेपाल र भुटानबीच भुटानी शरणार्थी समस्यालाई मैत्रीपूर्ण तवरले समाधान गर्नुु दुवै देशको हितमा रहेको बारेमा छलफल भएको छ ।

नेपाली प्रतिनिधमण्डलका नेता एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंह र भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेबीच शनिबार यहाँ भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, संविधानसभाबाट पहिलो पटक जारी भएको संविधान र भुटानी शरणार्थी लगायत विषयमा छलफल भएको थियो । सो भेटमा नेपालका परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे पनि सहभागी हुनुहुन्थ्यो ।

सो अवसरमा उपप्रधानमन्त्री सिंहले भूकम्पको बेला भुटानले नेपाललाई दिएको नगद एवम् चिकित्सक टोलीको सहयोगका लागि धन्यवाद दिनुभयो । नेपालमा संविधानसभाबाट दुई तिहाइ बहुमतसाथ जारी भएको संविधानको कार्यान्वयनका लागि दलहरु संविधान निर्माणमा जस्तै एक भएर अघि बढ्ने बताउँदै उपप्रधानमन्त्री सिंहले यसले नेपालको विकास, शान्ति र स्थिरताका लागि महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

भुटानी प्रधानमन्त्रीले संविधानबाट जारी संविधानको प्रशंसा एवम् स्वागत गर्नुभएको उपप्रधानमन्त्री सिंहले जानकारी दिनुभयो । भुटानले जलविद्युत् क्षेत्रमा हासिल गरेको उपलब्धि प्रशंसायोग्य रहेको पनि उपप्रधानमन्त्री सिंहले बताउनुभयो ।

यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे र संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमका एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय निर्देशकबीच शनिबार यहाँ भएको भेटवार्तामा विकास कार्यक्रमलगायत विविध विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया