जाँच पास नहुँदा एक हजार ५०० ट्रक, ट्याङ्कर अलपत्र

इनेप्लिज २०७२ असोज ९ गते ४:१२ मा प्रकाशित

पथरी (मोरङ), ९ असोज । भारतीय भन्सारले सामान जाँच पास नगर्दा भारतबाट सामान लिएर नेपाल आएका एक हजार ५०० मालबाहक सवारीसाधन भारतमा अलपत्र परेका छन् ।

विराटनगर भन्सार एजेन्ट सङ्घका अध्यक्ष विजेन्द्र परासरका अनुसार गत बुधबारदेखि कुनै पनि मालबाहक सवारीसाधन भित्रिएका छैनन् । भारतीय भन्सार एजेन्टका कर्मचारीले विभिन्न बहाना बनाएर काम नगरेको अध्यक्ष परासरको भनाइ छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले भन्नुभयो, “भारतीय पक्षले मालबाहक सवारी अवरोध नगरेको बताइरहेका छन् । तर बुधबार बिहानैदेखि मालबाहक सवारी नेपालतर्फ आएका छैनन् ।” बस्नेतका अनुसार भन्सार अवरुद्ध हुँदा दैनिक रु पाँच करोड १७ लाख राजस्व गुम्दै आएको छ ।

विराटनगर नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, तेललगायतका दैनिक १५० मालबाहक ट्रक नेपालतर्फ आउने गरेका छन् । नेपाल आउन पर्खेर बसेका झन्डै एक हजार ५०० मालबाहक सवारीसाधन भारतीय बजार जोगवनी हँुदै फारबिस गञ्जसम्म लाइन लागेको अध्यक्ष परासर बताउनुहुन्छ ।

विराटनगर भन्सार नाकाबाट खाद्यान्न, तेल, कच्चा पदार्थ पेट्रोल, डिजेललगायतका दैनिक ३०० सम्म मालबाहक ट्रक र ट्याक्टर आउने गरेका छन् । चालीस दिनसम्मको बन्दमा पनि १२५ सम्म मालबाहक सवारीसाधन आउने गरेको तर तीन दिनयता एउटासमेत मालबाहक सवारी नेपाल प्रवेश गर्न पाएको छैन ।

प्रतिक्रिया