एकीकृत सम्पत्तिकर तिर्ने बढ्दै

इनेप्लिज २०७२ असोज ९ गते ३:५९ मा प्रकाशित

Baglung_district_locationबागलुङ, ९ असोज । बागलुङ नगरपालिकाले एकीकृत सम्पत्तिकर लागू गरेपछि नगरवासी करको दायरामा आउने क्रम बढेको छ ।

आव ०७१/०७२ देखि लागू भएको एकीकृत सम्पत्तिकर तिर्नेमा हालसम्म छ हजार ६८१ जना करदाता नगरपालिकामा सूचीकृत छन् । बर्सेनि एकीकृत सम्पत्तिकरप्रति करदाताको आकर्षण बढेको नगरपालिका कार्यालयले जनाएको छ ।

वर्षौंसम्म कर नतिरी बसेका नगरवासी अहिले समयमै कर तिर्न थालेका छन् । झन्झटिलो र बढी तिर्नुपर्ने पुरानो कर प्रणालीको सट्टामा एकीकृत सम्पत्तिकर लागू भएपछि करदातामा सहजता थपिएको हो ।

करदाताले घरजग्गा कर, धुरीकर र मालपोत करको सट्टामा एकसाथ एकीकृत सम्पत्तिकर बुझाउन पाएका छन् । सम्पत्तिकरले नगरपालिकाको राजस्व सङ्कलनमा पनि वृद्धि ल्याएको योजना अनुगमन तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले बताउनुभयो ।

पहिलो आवमा रु ३३ लाख ९५ हजार कर सङ्कलन भएकामा गत आवमा रु ४५ लाख २६ हजार उठेको अधिकृत सुवेदीले जानकारी दिनुभयो ।

नगरक्षेत्रमा रहेका करिब १२ हजार करदातालाई एकीकृत सम्पत्तिकरको दायरामा ल्याउने लक्ष्य रहेको नगरपालिका कार्यालयले जनाएको छ । “करदातामा उत्साह बढेको छ, एकीकृत सम्पत्तिकर वैज्ञानिक पनि छ” अधिकृत सुवेदीले भन्नुभयो “छुटेका करदातालाई करको दायरामा ल्याउन सहजकर्तालाई विवरण सङ्कलनको लागि घरघरमा खटाएका छौँ ।” हरेक आवको पुस मसान्तभित्र कर तिर्न आउने करदातालाई कुल कर रकमको १० प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ ।

तोकिएको समयभन्दा ढिलो कर तिर्न आए प्रचलित नियमअनुसार जरिवाना तिर्नुपर्ने व्यवस्था छ । नगरपालिका कार्यालयमा सम्पत्ति विवरण सङ्कलन गर्ने र कर तिर्ने दुवै व्यवस्था मिलाइएको छ । करदाता आफ्नो सम्पत्तिको स्वयम् घोषणा गरी सम्पत्तिकरको दायरामा प्रवेश गर्ने गरेका छन् ।

व्यवस्थित, वैज्ञानिक र प्रगतिशील कर प्रणाली अपनाउँदै नगरपालिकालाई वित्तीय दृष्टिकोणबाट सक्षम बनाउने योजना रहेको अधिकृत सुवेदीले बताउनुभयो । “स्थानीय निकाय र करमा चल्ने कार्यालय भएकाले पनि एकीकृत सम्पत्तिकरबाट नगरपालिकाको आर्थिक स्रोत बलियो हुनेछ” अधिकृत सुवेदीले भन्नुभयो ।

एकीकृत सम्पत्तिकर नगर क्षेत्रभित्रको जग्गा र त्यस्तो जग्गामा बनेको घर, भवन, गोदाम, टहरा, सेड, ग्यारेजजस्ता भौतिक संरचनाको मूल्याङ्कन गरी कायम हुन आउने जम्मा कर योग्य मूल्यमा तोकिएबमोजिम कर लगाउने गरिएको छ ।

स्थानीय स्वायत्त शासन नियमावली २०५६ को नियम १४४ बमोजिम घरजग्गा तथा मालपोतको सट्टामा एकीकृतरुपमा सम्पत्तिकर लागू गरिएको हो ।

प्रतिक्रिया