छ महिनामा साढे चार सयले गर्भपतन सेवा लिए

इनेप्लिज २०७२ असोज ८ गते २:४५ मा प्रकाशित

garva-patanइलाम, ८ असोज । गाउँ गाउँमा सुरक्षित गर्भपतन सेवा विस्तार भएपछि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

आइपास नेपालको सहयोगमा १२ स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा प्रदान गर्न थालेपछि छ महिनाको अवधिमा चार सय ५६ जनाले गर्भपतन सेवा लिएका छन् ।

देउमाई नगरपालिकाको मङ्गलबारे, पशुपतिनगर, प्याङ र फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र, माईमझुवा, साँखेजुङ, चुलाचुली, कोल्बुङ, नयाँबजार, चिसापानी, बाँझो, र जीतपुर स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा सुरू गरिएको हो । ती स्वास्थ्य केन्द्रबाट सेवा सुरू हुनु अगाडि जिल्ला स्वास्थ्य कार्यालय, परिवार नियोजन सङ्घ र मेरीस्टोप्स सेन्टरबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध हुँदै आएको थियो ।

कतिपय स्वास्थ्य संस्थामा प्रसूति गराउनेभन्दा पनि गर्भपतन गराउनेको सङ्ख्या बढी देखिएको आइपास नेपाल इलाम शाखाका प्रमुख केदार भण्डारीले बताउनुभयो । स्वास्थ्य संस्थाबाट छ हप्तासम्मको औषधि सेवन गराएर गर्भपतन गराइन्छ । मातृ स्वास्थ्य शिशु क्लिनिक र प्राथमिक स्वास्थ्य केन्द्रमा भने १२ हप्तासम्मको गर्भ औजार प्रयोग गरेर सुरक्षित पतन गराइन्छ ।

मेरीस्टोप्स सेन्टरबाट आव २०७१/०७२ मा ३८२ जनाले, परिवार नियोजन सङ्घबाट ५७० जनाले र अस्पतालबाट २०७१÷०७२ मा एक हजार ४५० जनाले गर्भपतन सेवा लिएका छन् । नेपालमा पनि धेरैले असुरक्षित गर्भपतन गराउने गरेकाले त्यसलाई रोक्न ग्रामीण भेगमा सुरक्षित गर्भपतनसम्बन्धी सेवा र प्रचारप्रसार गरिएको आइपास नेपालले जनाएको छ ।

प्रतिक्रिया