खाद्य असुरक्षित गाविसमा पहल कार्यक्रम सञ्चालन

इनेप्लिज २०७२ असोज ८ गते १:५४ मा प्रकाशित

बैतडी, ८ असोज । बैतडीका १२ गाविसमा कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन (पहल) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

अमेरिकी सहयोग नियोग युएसआइडीको सहयोगमा मर्सीकोर नेपालले सो कार्यक्रम सञ्चालनमा ल्याएको हो । कार्यक्रमले खाद्य असुरक्षित गाविसमा कृषि क्षेत्रको सुधार, बजार प्रवद्र्धन, पोषण तथा सरसफाइ, विपद् तथा जोखिम व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, वित्तीय सेवालगायत क्षेत्रमा काम गर्ने जिल्लास्तरीय परिचयात्मक गोष्ठीमा जानकारी दिइयो ।

त्यस्तै जोखिमको अवस्थामा रहेका समुदायमा खाद्य उपलब्धताको अवस्थामा सुधार ल्याउने, जोखिमको अवस्थामा रहेका घरधुरीको आम्दानी बढाउने, उनीहरुको स्वास्थ्य तथा पोषण अवस्थामा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम पाँच वर्षसम्म सञ्चालन हुनेछ ।
सो कार्यक्रम आम्चोरा, पञ्चेश्वर, महाकाली, शिवनाथ, शर्माली, उदयदेव, विशालपुर, रीम, तल्लादेही, मल्लादेही, भटना र न्वादेउ गाविसमा सञ्चालन हुने छ । कार्यक्रमअन्तर्गत पाँच वर्षमा करिब रु ६ करोड १५ लाख खर्च हुने जनाइएको छ ।

यसैबीच पहल कार्यक्रमलाई सफल बनाउन जिल्लास्थित सबै राजनीतिक दलले सहयोग गर्ने बताएका छन् । अन्तरक्रियामा सहभागी राजनीतिक दलका प्रतिनिधिले जिल्लाका विकासका लागि आएका कार्यक्रमलाई सफल बनाउन आफूहरुले पहल गर्ने बताएका हुन् ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पहल कार्यक्रम नेपाल सरकारको भएको उल्लेख गर्दै विकास साझेदारहरु सहयोगी भएको बताउनुभयो ।

प्रतिक्रिया