सङ्कटापन्न लाटोकोसेरोको नयाँ प्रजाति फेला

इनेप्लिज २०७२ असोज ७ गते ४:२९ मा प्रकाशित

रत्ननगर (चितवन), ७ असोज । चितवन राष्ट्रिय निकुञ्जलाई आश्रय बनाएर बसेको सङ्कटापन्न लाटोकोसेरोको नयाँ प्रजाति फेला परेको छ ।

चरा विज्ञ डिवी चौधरीले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने थारू भिलेजमा उक्त लाटोकोसेरोको रेकर्ड गर्नुभएको बर्ड एजुकेसन सोसाइटी चितवनका अध्यक्ष वासु विँडारीले जानकारी दिनुभयो । योसँगै नेपालमा लाटोकोसेकोको प्रजाति २२ पुगेको छ । यसको अङ्ग्रेजी नाम भने मोटेड उड औल (mयततभम धययम यध)ि रहेको छ ।

उहाँका अनुसार नेपालको बर्दिया निकुञ्जमा पाँच महिनाअघि एक पर्यटकले उक्त प्रजाति फेला पारेका थिए । तर सो समयमा प्रमाणित हुन सकेको थिएन । दिउँसो निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासीको थारू भिलेज क्षेत्रमा मुसा खान जाने र राति चितवन निकुञ्जमा बस्ने गरेको पाइएको विँडारीले बताउनुभयो । अहिले भेटिएको लाटोकोसेरो बर्दियामा यसअघि एक नेपालीले आवाज रेकर्ड गरेको र एकजना विदेशीले तस्बिर नै खिचेर सार्वजनिक गरिएको भए पनि रेकर्ड प्रक्रियामा भने जान नसकेको लाटोकोसेरो विज्ञ राजु आचार्यले बताउनुभयो । तर यो नेपालका लागि नयाँ प्रजातिको लाटोकोसेरो भएको उहाँले पनि पुष्टि गर्नुभयो ।

विगत केही वर्षदेखि यसको संरक्षणका लागि लाटोकोसेरो तथा हुचिल उत्सव गर्दै आएको छ । नेपालमा वार्षिक कम्तीमा दुई हजार लाटोकोसेरो मारिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । मारिएकामध्ये अधिकांश बाह्य मुलुकमा अवैध व्यापार हुने गरेको चरा विज्ञहरुले बताएका छन् । लाटोकोसेरोको संरक्षण तथा अध्ययन गर्दै आएका प्रकृतिका साथी संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले विभिन्न परम्परावादी सोचका कारण लाटोकोसेरोको चोरी, सिकार तथा अवैध व्यापार हुने गरेको जानकारी दिनुभयो ।

विदेशमा औषधि बनाउने नाममा र अन्य प्रयोजनका लागि चितवनबाट बर्सेनि कम्तीमा पचासवटा लाटोकोसेरोको अवैध कारोबार हुने गरेको संरक्षणकर्मीको भनाइ छ । सबैभन्दा बढी लाटोकोसेरो पाइने दोलखाबाट वार्षिक दुईसय लाटोकोसेरोको अवैध रुपमा विदेश निर्यात हुन्छन् । विश्वभर २२५ प्रजातिका लाटोकोसेरो रहेका छन् । जसमध्ये २१ प्रजाति नेपालमा रहेको पाइएको छ । अहिले भेटिएपछि यसको प्रजाति २२ पुगेको चरा लाटोकोसेरो विज्ञ राजु आचार्यले बताउनुभयो । अहिलेसम्म नेपालमा ८७२ र चितवनमा ६२७ प्रजातिका चरा रहेको तथ्याङ्क छ ।

एउटा लाटोकोसेराले तीन महिनामा किसानका खेतका तीन हजार मुसा खाएर नष्ट गर्ने भएकाले कृषकको साथीका रुपमा यसलाई लिइन्छ । नेपालमा उच्च जोखिममा परेका बाघ, गैँडा झँै लाटोकोसेरा पनि रहेकाले सरकारी निकायको ध्यान जानुपर्ने विज्ञहरु बताउँछन् । नेपालमा अवैध रुपमा लाटोकोसेरो पाल्दा वा मार्दा रु ३०० देखि १० हजारसम्म जरिवाना र दुई महिनादेखि दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया