जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न

इनेप्लिज २०७२ असोज ७ गते २:०४ मा प्रकाशित

जापान, ७ असोज अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जापान च्याप्टरको आयोजनामा यही सेप्टेम्बर १८ देखि २२, २०१५ जापानमा चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भव्यरुपमा सम्पन्न भएको छ । सम्मेलनमा नेपाल, भारत, अमेरिका, भुटान, अस्ट्रेलिया, क्यानडा, बेलायत लगायत विभिन्न राष्ट्रहरुबाट सहभागिता रहेको थियो । सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उपे्रती प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा नेपालका लागि जापानका राजदूत मदनकुमार भट्टराइ, प्रा.डा. खगेन्द्रप्रसाद लुईटेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, साहित्यकार विन्ध्या सुव्वा आदि रहनु भएको थियो ।

सम्मेलनको पहिलो दिन अन्तर्राष्ट्रिय सहभागीहरुको आतिथ्यमा जापानको टोक्योस्थित शक्ति रेष्टुरेन्टमा रात्री भोज तथा परिचयात्मक कार्य आयोजना गरिएको थियो । अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको सो सम्मेलनको उद्घाटन समारोहमा सम्मेलनका संयोजक प्रकाश पौडेल माइलाले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो भने अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले सम्मेलनको उदेश्यमाथि प्रकाश पार्नुभएको थियो । सो अवसरमा राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री शुशिल कोइराला, राष्ट्रकवि माधव घिमिरे र अनेसास बोर्ड अफ ट्रष्टीका सभापति डा. श्याम कार्कीले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रममा एनआरएनका केन्द्रीय उपाध्यक्ष भवन भट्ट, अनेसासका उपाध्यक्ष सुमलकुमार गुरूङ, एनआरएन जापानका नवनिर्वाचित अध्यक्ष, जापानस्थित नेपाली राजदुतावासका तपस अधिकारी, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वरिष्ठ समालोचक तथा अनेसासका सल्लाहकार प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, जापानी नेपाली साहित्यकार आरुहितोले शुभकामना मन्तव्य र आफ्नो बारेमा मन्तव्य प्रकट गर्नुभएको थियो । यसै अवसरमा वरिष्ठ समालोचक तथा अनेसासका सल्लाहकार प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलले नेपाली भाषा, साहित्य तथा अनेसासलाई पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो भने नेपाली भाषा, साहित्य, संस्कृति तथा अनेसासलाई विभिन्न प्रकारले सहयोग गर्नुहुने मोहन सिटौला, डा. कुमार बस्नेत, भवन भटट, डा. रुपक श्रेष्ठ, डा. लेखनाथ काफ्ले, बेलायतका प्रोफेसर माइकल हट, अनेसासका उपाध्यक्ष भिमसेन सापकोटा र डा. कविता लामालाई अनेसास हिरोको सम्मान प्रदान गरिएको थियो । यस्तै अनेसास जापान च्याप्टरले सम्मेलन सफल पार्न तथा जापानमा नेपाली साहित्यको विकासमा पुर्याएको योगदानको कदर गर्दै अनेसास केन्द्रका तर्फबाट अध्यक्ष पदम विश्वकर्माले प्रदान गर्नुभएको थियो । सो अवसरमा अनेसास जापान च्याप्टरबाट प्रकाशित साकुरा फुल्दा, नीता श्रेष्ठको सुगन्धित साकुरा कृति प्रमुख अतिथि र विशिष्ट अतिथिहरुबाट संयुक्तरुपमा विमोचन गरिएको थियो । कार्यक्रममा अनेसास जापान च्याप्टरका अध्यक्ष आलोक चालिसेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम अनेसास जापानका महासचिव विष्णुप्रसाद घिमिरेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलले डायस्पोरामा नेपाली साहित्यको विकास र विश्वव्यापीकरण अभियान विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो सो कार्यपत्रमा अनेसास जापानका सल्लाहकार भुषण घिमिरेले टिप्पणी गर्नुभएको थियो र सो सम्बन्धमा विभिन्न महानुभावहरुले छलफल गर्नुभएको थियो । यसका अतिरिक्त सरिता पाठक, छविलाल रातामाटे, शालिग्राम, कविता लामा, रामचन्द्र अधिकारी, साधुराम खड्का, राजेश बुढाथोकी, अनुप थापा, एलएन अधिकारी, लब कुमार, रामकृष्ण मल्ल, भगवती उप्रेती लगायत विभिन्न साहित्यकारहरुले आआफ्नो रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रमको तेस्रो दिन अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीको संयोजनमा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण विषयमा छलफल तथा अन्तरक्रिया आयोजना गरिएको थियो । अन्तरक्रियामा बरिष्ठ समालोचक प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल, साहित्यकार कविता लामा, विन्ध्या सुव्वा, होमनाथ सुवेदी, पदम विश्वकर्मा, गंगाप्रसाद उप्रेती लगायत विभिन्न सहभागीहरुले भाग लिनुभएको थियो । यस पश्चात् होमनाथ सुवेदीले डायस्पोरा नेपाली साहित्यको विकासमा र अध्यक्ष पदम विश्वकर्माले अनेसासका गतिविधि, च्याप्टरका गतिविधि, यसको संस्थागत विकास, आर्थिक स्रोत परिचालनका विषमा प्रस्तुत गर्नुभएको थियो । यसपश्चात् अनेसास जापानका सल्लाहकार तिलक मल्लले जापानमा नेपाली साहित्यको विकासका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यपत्रमा साहित्यकार दिनेशराज ज्ञवालीले टिप्पणी गर्नुभएको थियो ।

तेस्रो दिनको दोस्रो सत्रमा विशेष काव्य गोष्ठी आयोजना गरिएको थियो । सो काव्य गोष्ठी दिपेन्द्र पाठक र भिमसेन सापकोटाले सञ्चालन गर्नुभएको थियो । गोष्ठीमा युवराज आचार्य, प्रकाश पौडेल, पुष्पा शर्मा, शान्तिराम ढकाल, पिताम्बर चापागाई, गणेश विक चिन्तन, प्रेमिला गौचन, सन्दिप भण्डारी, गणेश घिमिरे, राम लामा, राजेश बुढाथोकी, विन्धया सुव्वा, लतिका जोशी, छत्रपति फुयाँल आदि स्रष्टाले आआफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रमको अन्तिम सत्रमा अनेसासका अध्यक्ष पदम विश्वकर्माको सभापतित्वमा आयोजित समापन समारोहमा साहित्यकार दिनेशराज ज्ञवालीद्धारा प्रस्तुत निम्नलिखित ६ बुँदे टोकियो घोषणापत्र सम्मेलनले पारित गर्यो ।
१) नेपाली भाषाका उत्कृष्ठ साहित्यिक कृतिहरुको चयन गरेर विभिन्न भाषामा अनुबाद र प्रकाशन गरी नेपाली साहित्यको विश्वव्यापीकरण अभियानलाई शसक्त तुल्याउने ।
२) अनेसास तथा डायस्पोरा (आप्रवासी) नेपाली साहित्यको इतिहास तयार गर्न प्रत्येक च्याप्टरलाई क्रियाशिल गराउने ।
३) अनेसासका च्याप्टर भएका देशहरुमा पुस्तकालय र ई पुस्तकालयको स्थापना गर्ने ।
४) अनेसासको संशोधित विधानलाई यथाशिघ्र पारित गरी सोहीअनुरुप संस्था संचालन गर्ने ।
५) अनेसास तथा डायस्पोराबाट प्रकाशित सामाग्रीहरुको संकलन र ब्यबस्थापन गर्न डायस्पोरा डेस्कलाई निरन्तरता दिने ।
६) आप्रवासमा नेपाली भाषालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न विभिन्न मुलुकमा पाठशालाहरुको स्थापना गर्ने कार्यमा थप क्रियाशिल रहने ।

सम्मेलनमा कार्यक्रम संयोजक प्रकाश पौडेलले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सहभागीहरुका तर्फबाट साहित्यकार विन्ध्या सुव्वा र राम लामा, कुलपति गंगाप्रसाद उपे्रती, राजदुत मदनकुमार भट्टराई, प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल, होमनाथ सुवेदी, अनेसासका बरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले मन्तव्य राख्नु भएको थियो । अध्यक्ष पदम विश्वकर्माले सम्मेलन भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्ने आयोजक, अतिथि, सहभागी, सहयोगी सबैलाई अनेसास केन्द्रकोतर्फबाट धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो । समापन समारोह अनेसास जापान च्याप्टरका अध्यक्ष आलोक चालिसेले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रमको अर्को दिन सहभागीहरुले जापानको प्रमुख स्थानहरुमा साहित्यिक भ्रमण गर्नु गर्नुभएको थियो भने साँझ नेपाली राजदुतावास जापानको आतिथ्यतामा सहभागी र आयोजकहरुलाई रात्रीभोज आयोजना गर्रिएको थियो । रात्रीभोजको अवसरमा राजदुत भटटराईले अनेसासले नेपाली साहित्यको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यस्तो अन्तर्राष्ट्रिय सम्मेलन जापानमा आयोजना गरेकोमा आयोजक अनेसास जापान च्याप्टरलाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । सम्मेलनको अन्तिम दिन टोकियोबाट करिब दुइसय किलोमिटर टाढा रहेको तातेसिना रिसोर्टमा आयोजित कार्यक्रममा हाइकुसम्बन्धमा प्रकाश पौडेलले चर्चा गनुभएको थियो भने सहभागीहरुले केही हाइकु तथा रचनाहरु बाचन गर्दै रमाएका थिए ।

प्रतिक्रिया