लोकतन्त्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण: प्रधान न्यायाधीश

इनेप्लिज २०७२ असोज ६ गते १४:४३ मा प्रकाशित

12049567_10207053048032161_1117158902161695821_nकाठमाडौँ, ६ असोज । प्रधान न्यायाधीश कल्याण श्रेष्ठले राष्ट्र र लोकतन्त्रको विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ४६औँ वार्षिक दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले लोकतन्त्रलाई सफल बनाउन सञ्चारजगतले अहम् भूमिका खेल्नु पर्ने बताउनुभयो ।

नेपालमा सञ्चारको विकास दु्रुततर रुपमा अघि बढेको उल्लेख गर्दै प्रधान न्यायाधीश श्रेष्ठले भन्नुभयो– “नेपालमा ठूला राजनीतिक परिवर्तन भए, यी महत्वपूर्ण उपलब्धिलाई संस्थागत गर्न सञ्चारजगतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।”

देशभरि सञ्चारमाध्यम झाँगिएको र यसले जनतालाई झक्झक्याइरहेको चर्चा गर्दै उहाँले पत्रकारिता न्यायको पक्षधर रहेका कारण यसले अर्काको हकअधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चारजगतले के भएको छ भन्ने सूचना दिनेमात्रै नभई परिवर्तनको बाहक बन्नुपर्ने उल्लेख गर्दै प्रधान न्यायाधीश श्रेष्ठले पत्रकारितालाई मर्यादित र गुणस्तरीय बनाउने कुरामा प्रेस काउन्सिलले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

सूचना तथा सञ्चार मन्त्री डा मीनेन्द्र रिजालले पत्रकारिता जगत समाजको महत्वपूर्ण पक्ष भएको बताउँदै पत्रकारिता मर्यादित एवम् राष्ट्रिय हितका पक्षमा हुनुपर्ने बताउनुभयो ।

झन्डै सात दशकको प्रयासबाट नेपाली जनताले आफ्ना प्रतिनिधिबाट संविधान प्राप्त गरेको बताउँदै उहाँले यो उपलब्धिलाई संस्थागत गर्नु अपरिहार्य भएको बताउनुभयो ।

“संविधानको उपलब्धिलाई संस्थागत गर्दै अघि बढ्नुपर्छ”– मन्त्री रिजालले भन्नुभयो– “मुलुकको संवेदनशीलतालाई ख्याल गरी लोकतन्त्रको संस्थागत विकास तथा राष्ट्रिय हितलाई सर्वोपरी राख्दै सञ्चारजगत क्रियाशील बन्नुपर्छ ।”

अभिव्यक्तिको स्वतन्त्रतालाई बलियो बनाउन पनि सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुनेमा उहाँको जोड थियो ।

पे्रस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले प्रेस काउन्सिल नेपाल समग्र आमसञ्चार क्षेत्रको नियमनकारी निकाय भएकाले यसले आमसञ्चारमाध्यम तथा त्यहाँ कार्यरत सञ्चारकर्मीका समस्या र पीडा बुझ्ने गरेको बताउनुभयो ।

नेकपा (एमाले)का प्रचार विभाग प्रमुख योगेश भट्टराईले राष्ट्रमा लोकतान्त्रिक पद्धति कायम गराउन प्रेस जगतको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले नेपाल लामो समयको अथक प्रयासबाट संविधानसभाबाट संविधान जारी गर्न सक्षम बनेको बताउँदै यो परिवर्तनलाई संस्थागत गर्न पनि प्रेस जगतले अहम् भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।

एनेकपा (माओवादी) को स्थायी समिति सदस्य अग्नि सापकोटाले नेपालको संविधान जारीसँगै सम्भावना र चुनौतीको दोसाँधमा रहेको बताउँदै यस चुनौतीलाई एकताबद्ध रुपमा सामना गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय हितका लागि सञ्चारजगतले आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउँदै नेता सापकोटाले संविधान जारी भएयता देशका विभिन्न भागमा देखिएका असन्तुष्टिलाई पनि राजनीतिक रुपमा सम्बोधन गर्दै जानुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महसङ्घका अध्यक्ष डा महेन्द्र विष्टले संविधान नेपाली जनताको गर्वको विषय भएको बताउँदै यसका सम्बन्धमा सञ्चारजगतका आफ्नै असन्तुष्टि रहेर पनि नेपाली जनताले आफँै लेखेको संविधान भएका कारण यसको स्वागत गरिएको धारणा राख्नुभयो ।

असन्तुष्टिलाई संवाद र सहमतिका माध्यमबाट समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।

सूचना विभागका महानिर्देशक एवम् प्रेस काउन्सिल नेपालका सदस्य सचिव लक्ष्मीविलास कोइरालाले काउन्सिलबाट पत्रकार आचारसंहिता, राष्ट्रियता, पत्रकार हकहित तथा आन्तरिक सवलिकरणका पक्षमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी गराउनुभयो ।

कार्यक्रममा पत्रकारिताका क्षेत्रमा क्रियाशील विभिन्न ३३ जना सञ्चारकर्मीका साथै तीनवटा सञ्चार संस्था र अग्रज सञ्चारकर्मीलाई प्रधान न्यायाधीश श्रेष्ठ र मन्त्री रिजालले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, काउन्सिलका सदस्य चन्द्रदेव कामती, कौशल चेम्जोङलगायतले पत्रकारिता जगतलाई मर्यादित र गुणस्तरीय बनाउन प्रेस काउन्सिल नेपालको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उक्त अवसरमा प्रेस काउन्सिल नेपालको आव २०७१/७२ को वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो ।

वार्षिकोत्सवमा विभिन्न व्यक्तित्व सम्मानित

आफ्नो ४६औँ वार्षिकोत्सवका अवसरमा आज नेपाल प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा लामो समय पत्रकारितामा रहेर कलम चलाउने इन्द्रकान्त मिश्र, मणिराज उपाध्याय, मदनमणि दीक्षित, पन्नालाल गुप्ता, हिरण्यलाल श्रेष्ठ, प्रेमकुमारी पन्त, कमल कोइराला, बारबरा एडम्स, कृष्णा ताम्राकार, राजेश्वर नेपाली, शिशुप्रसाद देवकोटा र अमृता लम्साल हुनुहुन्थ्यो ।

काउन्सिलले विभिन्न विधामा छुट्याएको पुरस्कारअन्तर्गत क्रियाशील पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल, रत्न आचार्य, दुर्गा अधिकारी, टङ्क कुँवर र शिवलाल यादव सम्मानित हुनुभयो ।

यसैगरी, प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कारबाट मुकेशचन्द्र राजभण्डारी, सत्रुघन नेपाल, राजबहादुर कुँवर र वासु क्षितिज सम्मानित हुनुभयो ।

यस्त,ै अमन कोइराला, लक्ष्मण खड्का र योगेश पोखरेलले प्रेस काउन्सिल युवा सशक्तीकरण पुरस्कार प्राप्त गर्नुभयो । समावेशी पत्रकारिता पुरस्कारबाट त्रिभुवन पौडेल, विजयसन्तोषी राई, सुनिता रेग्मी, दिनेश यादव, नेपोलियन चेपाङ र भारती चौधरीलाई सम्मान गरियो ।

प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी विधामा अरुण बराल, प्रेमचन्द्र झा, मोहम्मद हारुन र सत्यनारायण चौधरी पुरस्कृत हुनुभयो भने महिला सशक्तीकरण पत्रकारिता पुरस्कारबाट शुभेच्छाबिन्दु तुलाधर, मधु शाही, माला कर्ण र कल्पना आचार्यलाई सम्मानित गरियो ।

प्रेस काउन्सिल स्तम्भ लेखन विधामा शारदारमण नेपाल, चक्रपाणि नेपाल, भारती पोखरेल र रामचन्द्र शर्मा सञ्जेल पुरस्कृत हुनुभयो । भाषागत पत्रकारिता विधामा ललितपुरबाट प्रकाशित हुने छारगोङ्मा मासिक पुरस्कृत भयो ।

यसैगरी, साहित्यिक पत्रकारितामा ‘दायित्व’ द्वैमासिक र ‘दोभान’ त्रैमासिकलाई पुरस्कृत गरियो भने आचारसंहिता पत्रकारिता पुरस्कार रेडियो नेपाललाई दिइयो ।

पत्रकार गोपालदास श्रेष्ठको सम्झनामा स्थापित गोपालदास पत्रकारिता पुरस्कारबाट कौशल चेम्जोङ लिम्बूलाई रु एक लाख राशिसहित सम्मान गरियो । अन्य सम्मानित हुने व्यक्तित्वलाई रु १० हजार राशिसहित सम्मान गरिएको थियो ।

काउन्सिलमा लामो समयदेखि कार्यरत उपप्रशासकीय अधिकृत मानबहादुर लामिछाने र वितरक सम्परीक्षण अधिकृत रामप्रसाद पोखरेललाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया