करुवा उद्योग सङ्कटमा

इनेप्लिज २०७२ असोज ६ गते १४:३७ मा प्रकाशित

Palpali-Karuwaपाल्पा, ६ असोज । पाल्पाको पहिचान बोकेको करुवा उद्योग सङ्कटमा परेको छ ।

तानसेनको टक्सारटोल पाल्पाली करुवा उत्पादनका लागि परिचित स्थान भए पनि अहिले त्यहाँ उत्पादन न्यून मात्रामा हुँदा उद्योग सङ्कटमा पर्न थालेको हो । मागअनुसारको करुवा समयमा पाइन छाडेको उद्योग वाणिज्य सङ्घका महासचिव भीमसेन कार्कीले बताउनुभयो ।

पछिल्लो पुस्ताका ताम्राकारले करुवा निर्माणभन्दा अन्य व्यवसाय अङ्गालेपछि करुवा उद्योग धरापमा परेको हो । सात आठ वटा घरमा पहिला करुवा उद्योग सञ्चालित भए पनि अहिले दुई घरमा मात्र सीमित रहेको कार्की बताउनुहुन्छ ।

पाल्पामा कालिगडको अभावका कारण उद्योग बन्द हँुदै गएका छन् । धेरै मेहनत गर्नुपर्ने भएकाले नयाँ पुस्ता यस पेसामा आकर्षित हुन नसकेको स्थानीय माया बज्राचार्यले बताउनुभयो ।

उद्योग वाणिज्य सङ्घका कार्यकारी सचिव मुक्ति न्यौपानेले करुवा उपहार दिनुपर्नेमा पाल्पाली करुवाको अभावका कारण अन्य सामान उपहार दिन बाध्य हुनुपरेको बताउनुभयो ।

पाल्पा घुम्न आउने उद्यमी तथा व्यवसायीलाई चिनोस्वरुप करुवा दिनुपर्ने चलन रहेकोमा अहिले करुवाको अभावले अन्य उपहार दिनुपर्ने दुःखद् स्थिति सिर्जना भएको उहाँले बताउनुभयो ।

युवा विदेश पलायन हुनु र अन्य समुदाय यस पेसामा आकर्षित हुन नसक्दा पराम्परागत सीप बर्सेनि लोप हुँदै गएको छ ।

प्रतिक्रिया