मनमोहक रुप्से झरना र अन्धगल्छी ओझेलमा

इनेप्लिज २०७२ असोज ६ गते ८:२६ मा प्रकाशित

rupse-650x488म्याग्दी, ६ असोज । म्याग्दीको उत्तरी पर्यटकीय दाना गाविसमा रहेको आकर्षक रुप्से झरना र विश्वकै गहिरो अन्धगल्छी प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन् ।

बेनी–जोमसोम सडकखण्ड नजिकै रहे पनि प्रचारप्रसार हुन नसक्दा उल्लेख्य मात्रामा पर्यटक भित्र्याउन नसकिएको हो । झरना र गल्छीको दृष्यावलोकनका लागि लाखौँ रुपैयाँ लगानीमा भ्युटावर, पदमार्ग, रेलिङलगायतका पूर्वाधार निर्माण भए पनि झरना र गल्छीलाई लक्षित गरी पर्यटक भित्र्याउन नसकिएको रुप्से अन्धगल्छी संरक्षण समितिका सचिव सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

अन्नपूर्ण र धौलागिरि हिमालको रेन्जबाट दानास्थित कालीगण्डकी नदीको खोंचमा मापन गरिएको छ हजार ९६७ मिटर गहिरो अन्धगल्छी संसारकै गहिरो गल्छी मानिन्छ । त्यस्तै ७५ मिटर अग्लो रुप्से झरना नेपालकै सुन्दर झरनाको रुपमा चिनिँदै आएको छ ।

पछिल्लो समय विभिन्न ठाउँबाट झरना र गल्छीको अवलोकनका लागि आन्तरिक पर्यटक भित्रने क्रम बढे पनि बाह्य पर्यटकलाई उल्लेख्य मात्रामा भित्र्याउन नसकिएको संरक्षण समितिका सचिव विश्वकर्माको भनाइ छ ।

छयत्तर किलोमिटर बेनी–जोमसोम सडक सञ्चालनमा आएपछि रुप्से झरना र अन्धगल्छीको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या घटेको हो । मोटरबाटोमा सवारीसाधन सञ्चालनमा आएपछि पर्यटक सिधै बेनीदेखि जोमसोम पुग्ने भएकाले झरना र गल्छी ओझेलमा पर्न थालेको स्थानीय बताउँछन् ।

सवारी चालकले पनि आवतजावत गर्ने बेला पर्यटकले केही समय त्यस क्षेत्रको प्राकृतिक सुन्दरताको विषयमा जानकारी दिने बानीको विकास गर्नुपरेको स्थानीय अगुवाको भनाइ छ । उनीहरुले रुप्से झरना र अन्धगल्छी रहेको क्षेत्रलाई आवश्यक पूर्वाधार तयार गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्नसमेत सरोकारवालासँग माग गरेका छन् ।

प्रतिक्रिया